
काठमाडौं ।
निर्वाचन आयोग नेपालको सिस्टमबाट बुधबार राती एक जना व्यक्तिलाई ११२ ओटा एसएमएस गएको छ। निर्वाचन आयोगले बुधबारदेखि सञ्चालनमा ल्याएको अनलाइन मतदाता नामावली दर्ता प्रक्रियाका कारण उक्त ओटीपी एसएमएस उत्पन्न भएको हो।
निर्वाचन आयोगकाअनुसार सिस्टममा कुनै समस्या भएको वा ह्याक भएको आशंका गरिएको छ। आयोगका एक अधिकारीले ह्याक भएको हुनसक्नेसमेत आशंका व्यक्त गरे।
आयोगले वेबमा आधारित भोटर लिस्ट प्रि-रजिस्ट्रेसन सिस्टम तयार गरी काठमाडौं उपत्यकाका ३ जिल्लामा पाइलज परियोजनाका रुपमा सेवा शुरु गरेको थियो।
नेपाल प्रहरीका पूर्व डीआईजी तथा साइबर सुरक्षा विज्ञ समेत रहेका राजीव सुब्बालाई उक्त ११२ ओटा एसएमएस गएको थियो। सुब्बाले आफूलाई प्राप्त भएको एसएमएसको जानकारी ट्वीटमार्फत् गराएका थिए।
https://twitter.com/drraasu/status/1547397933469175809
अनलाइनबाट मतदाना नामावली दर्ता गराउन नेपाली नागरिकहरुले आयोगको वेबसाइटमा गएर रजिस्ट्रेसन फर्म भर्नुपर्ने हुन्छ। मतदाता नामावली प्रि-रजिष्ट्रेसनका लागि शुरुमै मोबाइल नम्बर राख्नुपर्ने हुन्छ।
मोबाइलमा आउने ओटीपी कोड राखेपछि मात्रै मतदाता दर्ताको अनलाइन फाराम भर्न सकिन्छ।
उक्त समस्या के कारणले उत्पन्न भएको भनी निर्वाचन आयोगका प्रवक्ता तथा सूचना अधिकारीसँग सम्पर्क गर्न खोज्दा उनीहरुको फोन उठ्न सकेन। टेक्नोलोजीखबरको लामो प्रयासपछि आयोगका आईटी विभागमा कार्यरत एक कर्मचारीसँग सम्पर्क कायम भयो। र उनले पनि उक्त घटनाको जानकारी ट्विटरबाटै प्राप्त गरेको बताए।
उनले यस्तो समस्या हाल समाधान भईसकेको र ह्याक समेत भएको हुनसक्ने आशंका व्यक्त गरे।
‘अहिलेसम्म उक्त समस्या के कारणले भएको हो भन्ने पत्ता लगाउन सकेका छैनौं। तर पनि उक्त समस्याको समाधान गरिसकेका छौं,’ ती अधिकारीले भने, ‘भ्यालिडेसनमा राख्दा राख्दै कसैले भित्रैबाट त्यस्तो काम गरेको हुनुपर्छ। कुनै व्यक्तिले हाम्रो सिस्टममा अनाधिकृत रुपमा प्रवेश गरेको पनि हुनसक्छ।’
यस बारेमा आयोगले थप छानबिन गरिरहेको जनाएको छ।
प्रकाशित: ३० असार २०७९, बिहीबार