
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चढ्ने गाडी खरिद कार्य नै कानून विपरित भएको देखिएको छ।
महालेखा परीक्षकको कार्यालयले संचार मन्त्रीले चढिरहेको गाडी खरिदको खर्च कानूनसम्मत नभएको उल्लेख गरेको छ।
मन्त्री कार्कीले हाल नेपाल दूरसञ्चार प्राधिकरणबाट खरिद गरिएको टोयोटाको महंगो गाडि चढिरहेका छन्।
सञ्चार मन्त्रीको लागि भनेर प्राधिकरणले २०७७ पुस १६ गते टोयोटाबाट गाडि खरिद गरेको थियो। र सो गाडि हाल सञ्चारमन्त्री कार्कीले प्रयोगमा ल्याईरहेका छन्।
यसअघि उक्त गाडी तत्कालिन सञ्चारमन्त्रीको लागि खरिद गरिएको भएपनि त्यसबेला संचारमन्त्री रहेका पार्वत गुरुङ्गले चढ्न पाएका थिएनन्। त्यसबेला पहिलो गाडी खरिद प्रकृयामा विवाद भएसँगै टोयोटाले गाडी उपलब्ध गराएको थिएन र पछि प्राधिकरणले नयाँ टेण्डरमार्फत २ करोड ५ लाख २५ हजार रुपैयाँमा टोयोटासँग गाडी खरिद गरेको थियो।
हाल सोही गाडी मन्त्री कार्कीले प्रयोग गर्दै आएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
“प्राधिकरणको स्वीकृत बजेटबाट मन्त्रीको सवारीसाधन खरिदको लागि खर्च गर्नु कानूनसम्मत देखिएन। यसप्रकारको खर्चमा नियन्त्रण हुनुपर्दछ।” महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन, २०७९ मा भनिएको छ।
तत्कालिन समयमा प्राधिकरणले आफ्नो वार्षिक बजेटमार्फत २ करोड रुपैयाँ गाडी खरिदको लागि बिनियोजन गरेको थियो।
प्रकाशित: २९ असार २०७९, बुधबार