इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि ट्राफिकको कारबाहीमा नपरिने

  • Technology Khabar | २३ जेष्ठ २०७९, सोमबार
इम्बोस्ड नम्बर प्लेट जडान नगरे पनि ट्राफिकको कारबाहीमा नपरिने

काठमाडौं ।

इम्बोस्ड नम्बर प्लेट जडान नगरेपनि सवारी साधनहरु साउन १ गतेदेखि कारवाहीमा नपर्ने भएका छन्।

यातायात व्यवस्था विभागले साउन १ गतेसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीसाधन धनीलाई ट्राफिक प्रहरीबाट कारबाही गराउने भनेर गत शुक्रबार सार्वजनिक सूचना जारी गरेको थियो।

विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनले चालु आवको असार मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने भनेर सूचना जारी गरेको थियो।

ट्राफिक प्रवक्ता संचिव शर्मा दास

इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीलाई साउन १ गतेदेखि नै कारबाही प्रक्रिया अघि बढाइहाल्ने स्थिति आइनसकेको ट्राफिक प्रहरीका प्रवक्ता संजिव शर्मा दासले टेक्नोलोजीखबरलाई बताए।

‘कारबाहीको विषयमा ट्राफिक प्रहरीलाई आधिकारिक रुपमा केही थाहा छैन। यस विषयमा सूचना निकाल्ने निकायलाई सोध्नुपर्ने हुन्छ। इम्बोस्ड नम्बर प्लेट जडान नगरेकै आधारमा कारवाही प्रक्रिया अघि बढाइ हाल्नुपर्छ भन्ने छैन,’ दासले भने, ‘यो साउनको कुरा हो। जेठ नै सकिएको छैन। असार पुरै बाँकी छ।’

उक्त अवधिको बिचमा कस्तो निर्णय आउँछ भनेर अहिले भन्न सकिने स्थिति नरहेको दासको भनाइ छ।

सूचना अधिकारी इश्वरीदत्त पनेरु

यसैगरी यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरु इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीलाई कारबाही गर्ने उद्देश्यले सूचना प्रकाशित नगरेको बताउँछन्।

‘सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ,’ पनेरुले भने, ‘सरकारले नीतिगत व्यवस्था गरेपनि इम्बोस्ड नम्बर जडान प्रक्रिया उत्साहजन सहभागिता देखिएको छैन। इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई तीव्रता दिन सूचना जारी गरिएको हो।’

अब इम्बोस्ड नम्बर जडान गर्नुपर्छ भन्ने संदेश प्रवाह गर्न सूचना जारी गरिएको उनले स्पष्ट पारे।

यो पनि हेर्नुस्-

इम्बोस्ड नम्बर प्लेट कसरी जडान गर्ने, कति लाग्छ शुल्क?

*सम्पादित समाचार

प्रकाशित: २३ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार