
काठमाडौं ।
नेपाली बजारमा केहि समयअघि लन्च भएको बंगलादेशी मोबाइल ब्राण्डले भविश्यमा नेपालमा नै उत्पादन गर्ने योजना लिएको छ।
नेपाली बजारमा २०२१ मा भित्रिएको सिम्फोनी मोबाइल ब्राण्डको माग बजारमा बढिरहेको सन्दर्भमा कम्पनी बंगलादेशबाट मोबाइल निर्यात गर्ने दोस्रो कम्पनी भएको छ।
बंगलादेशी मिडिया द बिजनेस स्ट्याण्डर्डले प्रकाशित गरेको समाचारअनुसार यसअघि वाल्टनले अमेरिकामा मोबाइल फोन निर्यात गरेकोमा त्यसपछि विदेशमा निर्यात गर्ने सिम्फोनी दोस्रो मोबाइल उत्पादन भएको बताईएको छ।
नेपाली बजारमा सिम्फोनी मोबाइल एपेक्स ग्रुपअन्तरगतको कम्पनीले आयात गरेर बिक्री गर्दै आएको छ।
मिडिया रिपोर्टअनुसार कम्पनीले पहिलो चरणमा अक्टोबर २६ मा १५ हजार यूनिट फोन आयात गरेको थियो भने दोस्रो लटको फोन पनि आज आईतवार बंगलादेशबाट आउने तय भएको छ।

बंगलादेशी पोस्ट्स एण्ड टेलिकम्युनिकेसन मन्त्री मुस्तफा जब्बरले बताएअनुसार कम्पनीले अहिले नेपाली बजारमा फोन निर्यात गरिरहेको भएपनि आगामी दिनमा नेपालमा नै उत्पादन गर्नेछ।
बंगलादेशी मन्त्रीले नेपालमा निर्यात गरिने फोनको कन्साइनमेन्ट पठाउने कार्यक्रममा सो जानकारी दिएका हुन्।
“अहिले नेपालले मोबाइल फोनहरु हामीबाट आयात गरिरहेको छ। तर उनीहरुले आफ्नै देशमा छिट्टै मोबाइल डिभाइसहरु उत्पादन गर्नेछन् । त्यसबेला हाम्रा इन्जिनियरहरु गएर उनीहरुलाई सहयोग गर्नेछन्,” जब्बरले भने।
तर उनले कहिले र कति लगानीमा सिम्फोनी वा अन्य बंगलादेशी ब्राण्डले नेपालमा मोबाइल फोन उत्पादन गर्नेछ भन्ने कुनै स्पष्ट जानकारी दिएका छैनन्।

सो अवसरमा सिम्फोनी मोबाइलको मुख्य लगानीकर्ता एडिसन ग्रुपका म्यानेजिङ्ग डाइरेक्टर जाकारिया शाहिदले आगामी दिनमा भियतनाम, श्रीलंका, ओमान र नाइजेरियामा २०२२मा फोन निर्यात गर्ने जानकारी दिएका थिए।
सिम्फोनीले बंगलादेशको असुलिया फ्याक्ट्रिमा सन् २०१८ देखि फोन उत्पादन गर्दै आएको छ भने हाल वार्षिकरुपमा १ करोड २ लाख यूनिट फोन उत्पादन गर्ने गर्दछ।
हाल सिम्फोनी ब्राण्डसँग एक्लै ७२ लाख स्मार्टफोन तथा फिचर फोनको माग रहेको बताईएको छ। कम्पनीले ८ तहको मापदण्ड पुरा गरेर फोन उत्पादन गर्दै आएको छ।
बंगलादेशमा ३ करोड ५० लाख स्मार्टफोनहरुको माग रहेकोमा आन्तरिकरुपमा २ करोड ६१ लाख फोनहरु निर्माण तथा एसेम्बल हुँदै आएको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: ९ माघ २०७८, आईतवार