बेलायती स्याटेलाइट कम्पनी वनवेबले भारतभर स्याटेलाइट इन्टरनेट सेवा दिने

  • Technology Khabar | ७ माघ २०७८, शुक्रबार
बेलायती स्याटेलाइट कम्पनी वनवेबले भारतभर स्याटेलाइट इन्टरनेट सेवा दिने

काठमाडौं ।

स्याटेलाइट इन्टरनेट सेवा भारतभर उपलब्ध गराउने उद्देश्यले भारती ग्रुप समर्थित वनवेब र स्याटेलाइट सेवा प्रदायक ह्युजेस नेटवर्क सिस्टम्सबीच ६ वर्षे वितरण सम्झौता भएको छ। दुवै कम्पनीको संयुक्त विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।

भारतीय मिडियाहरुकाअनुसार भारतमा यो सेवा ‘ह्युजेस कम्युनिकेसन्स इन्डिया प्राइभेट लिमिटेड'(एचसीआईपीएल) मार्फत उपलब्ध गराइनेछ। यो ह्युजेस र भारती एयरटेलको संयुक्त उद्यम हो। दुबै कम्पनीले सेप्टेम्बर २०२१ मा एमओयूमा हस्ताक्षर गरेका थिए र सम्झौता पनि त्यही अनुसारको छ।

कम्पनीहरूले यो घोषणा डिजिटल इन्डियाका लागि टर्निङ प्वाइन्ट भएको बताएका छन्। दूरसञ्चार कम्पनी, बैंक, कलकारखाना, विद्यालयलगायतका उद्यमशीलता उच्च कार्यसम्पादनको स्याटकम सेवा स्वदेशमै आउने प्रतीक्षामा छन् ।

एचसीआईपीएलका अध्यक्ष र प्रबन्ध निर्देशक पार्थो बनर्जीले भने, “वनवेबको सम्भाव्यतालाई उपयोग गरेर, हामी उच्च गति, कम विलम्बतासहित सेवा ल्याउन तत्पर छौं।”

वनवेबको पछिल्लो स्याटेलाइट लन्च २७ डिसेम्बर २०२१ मा भएको थियो। यसले हालसम्म ३९४ स्याटेलाइट अन्तरिक्षमा पठाएको छ । वनवेबले कुल ६४८ स्याटेलाइटहरूलाई कक्षमा पठाउने काम गरिरहेको छ। यसरी लक्ष्यको ६० प्रतिशत स्याटेलाइट प्रक्षेपण गरिसकेको छ।

कम्पनीले सन् २०२२ को अन्त्यसम्ममा विश्वभर आफ्नो सेवा सुरु गर्ने तयारी गरिरहेको छ।

वनवेबका सीईओ नील मास्टरसनले भने “वनवेबले लद्दाखदेखि कन्याकुमारी र गुजरातदेखि पूर्वोत्तरसम्म भारतको लम्बाइ र चौडाइलाई कभर गर्ने छ। यसले इन्टरप्राइज, सरकार, टेलिकम, एयरलाइन कम्पनीहरूको लागि सुरक्षित समाधान ल्याउने छ। कम्पनीले भारतमा गेटवे र पीओपी (पोइन्ट अफ प्रेसेन्स) जस्ता सक्षम पूर्वाधार निर्माणमा पनि लगानी गर्नेछ।”

अर्कोतर्फ ह्युजेस आफ्नो मूल कम्पनी इकोस्टार मार्फत वनवेबको शेयरधनी समेत हो। यो वनवेबको इकोसिस्टम पार्टनर पनि हो, जसले गुजरात र तमिलनाडुमा गेटवे इलेक्ट्रोनिक्सको विकास गरिरहेको छ।

टाट पल्टिनबाट बचाईएको बेलायती स्याटेलाइट कम्पनी वनवेबमा भारतको भारती ग्रुप, बेलायती सरकारका साथसाथै कम्पनीले जापानको सफ्टबैंक र युटेलस्याट कम्युनिकेसन्सबाट पनि लगानी सुरक्षित गरेको छ।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...