
काठमाडौं ।
भारतीय टेलिकम अपरेटर रिलायन्स जियोले ६जी प्रविधिमा अनुसन्धान गर्ने उद्देश्यले फिनल्याण्डको ओलु विश्वविद्यालयसँग प्रत्यक्ष सहकार्य गरेको छ।
रिलायन्स जियो र ओलु विश्वविद्यालयबीच साझेदारी भएको छ। यस सम्झौता अन्तर्गत, यी दुई संस्थाहरूले अब ६जी प्रविधिको मार्गमा संयुक्त रूपमा अनुसन्धान गर्नेछन् र सिक्सजी प्रविधि स्ट्याण्डराइजेसनको लागि सँगै काम गर्नेछन्।
यस सहकार्यले डिजिटल अवसरहरू मात्र नभई अवस्थित फाइभजी प्रविधिलाई थप स्तरोन्नति गर्ने कम्पनीको विश्वास छ।
भारतमा यो वर्ष अर्थात् २०२२ मा फाइभजी नेटवर्कको सुरुवात हुँदैछ र यस पटक तिहारसम्म भारतीय जनताले उच्च गतिको ५जी इन्टरनेट चलाउन पाउने अपेक्षा गरिएको छ।
भारतीय बजारमा रिलायन्स जियो, एयरटेल र भोडाफोन आइडियाका टेलिकम कम्पनीहरूले यस ५जी नेटवर्कमा द्रुत रूपमा काम गरिरहेका छन्। तर मुकेश अम्बानीको नेतृत्वमा रहेको रिलायन्स जियोले ५जी देशभर बिस्तार गर्नुभन्दा पहिले नै सिक्सजीतर्फ पाइला बढाएर सबैलाई चकित बनाएको छ।
रिलायन्स समूहको इकाई जियो इस्टोनिया र ओलु विश्वविद्यालयबीचको यो साझेदारीपछि एरियल र स्पेस कम्युनिकेशन (Aerial and Space communication), होलोग्राफिक बीमफर्मिङ (Holographic Beamforming), साइबर सेक्युरिटीमा थ्रीडी कनेक्टेड इन्टेलिजेन्स (3D Connected Intelligence in Cybersecurity), माइक्रोइलेक्ट्रोनिक्स (Microelectronics) र फोटोनिक्स(Photonics) का विकासहरू देखिने विश्वास गरिन्छ, जसले सम्पूर्ण विश्वलाई फाइदा पुग्नेछ।
यो सम्झौतापछि रक्षा, अटोमोटिभ, ह्वाइट गुड्स, औद्योगिक मेसिनरी, उपभोग्य वस्तु, दक्ष उत्पादन, नयाँ पर्सनल स्मार्ट डिभाइस वातावरणका साथै सहरी कम्प्युटिङ र अटोनोमस ट्राफिक सेटिङहरूमा सिक्सजी प्रविधि र ६जी सक्षम उत्पादनहरू कसरी विकास गर्ने भन्नेमा दुवै संस्थाको प्रयास रहनेछ।
प्रकाशित: ७ माघ २०७८, शुक्रबार