नेपालमा स्मार्टवाचको प्रयोग बढ्दो, पाँच महिनामै आयात भए २ लाख थानभन्दा बढी

  • Technology Khabar | १० पुष २०७८, शनिबार
नेपालमा स्मार्टवाचको प्रयोग बढ्दो, पाँच महिनामै आयात भए २ लाख थानभन्दा बढी

काठमाडौं ।

आर्थिक वर्ष २०७८/७९ को शुरुवाती ५ महिनामा नेपालमा २८ करोड १९ लाख २४ हजार रुपैयाँ बराबरका स्मार्टवाच आयात भएका छन्।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को शुरुवाती पाँच महिनाको प्रतिवेदन अनुसार उक्त रकम बराबरको २ लाख १४ हजार ४२६ थान स्मार्टवाच आयात गरिएको हो।

गत वर्षभरी नेपालमा २४ करोड १ लाख २ हजार रुपैयाँ बराबरको १ लाख ३८ हजार ६५५ थान स्मार्टवाच भित्रिएकामा यस वर्षको शुरुवाती पाँच महिनामा भने २८ करोड १९ लाख २४ हजार बराबरको २ लाख १४ हजार ४२६ थान स्मार्टवाच आयात भएको तथ्याङ्क छ।

आयात भएकामध्ये चीनबाट सबैभन्दा धेरै अर्थात् २ लाख २ हजार ९७४ ओटा तथा भारत बाट ८ हजार ८७० ओटा स्मार्टवाचहरु आयात भएका छन्।

यी स्मार्टवाचका मूल्यमध्ये चीनबाट आयात गरिएकाको २२ करोड २० लाख ४९ हजार तथा भारतबाट ल्याइएकाको १ करोड ७३ लाख ५२ हजार रुपैयाँ रहेको छ।

यसबाहेक भियतनामबाट ३ करोड ५९ लाख ६६ हजार बराबरको १ हजार २७० थान, अमेरिकाबाट ७ लाख ९७ हजार बराबरको ४३ थान, ताइवानबाट १३ लाख ६० हजार बराबरको १ हजार १४५ थान आयात भएको तथ्याङ्कमा उल्लेख छ।

यसैगरी हङकङबाट ८ हजार बराबरको ५ थान, अस्ट्रेलियाबाट ४ लाख ८७ हजार बराबरको ४४ थान, कोरियाबाट ६ लाख ८८ हजार बराबरको ३४ थान, जापानबाट १ लाख ०९ हजार बराबरको ९ थान तथा यूएईबाट ३ लाख ६४ हजार बराबरको १७ थान स्मार्टवाच आयात भएको देखिन्छ।

यसबाहेक कतार, कोरिया, इजरायल, क्यानडा, थाइल्याण्ड, बेलायत, नेदरल्याण्ड्स, पोर्चुगल, फ्रान्स र न्यूजिल्याण्डबाट फुटकर मात्रामा स्मार्टवाचहरु आयात भएको तथ्याङ्क भन्सार विभागले अद्यावधिक गरेको छ।

पछिल्ला दिनमा स्मार्ट डिभाइस प्रयोग गर्नमा हरेक उमेर र वर्गका मानिसहरु आकर्षिक हुन थालेपछि स्मार्टफोनपछि स्मार्टवाच तथा स्मार्टब्याण्ड सबैको राोजाइमा पर्दै आएका छन्।

सबैले एप्पल, सामसङलगायतका महँगा ब्रान्डका स्मार्टब्यान्ड तथा वाच प्रयोग गर्न नसक्ने भएकाले सस्तो र नेपाली बजार सुहाउँदो चिनियाँ फ्याक्ट्रीमा निर्मित विभिन्न ब्रान्डका स्मार्टवाच पछिल्ला दिनमा आयात हुने क्रम बढेको विभागको तथ्याङ्कबाट प्रस्ट हुन्छ।

प्रकाशित: १० पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...