एम२ चिपको व्यावसायिक उत्पादन शुरु

  • Technology Khabar | १५ बैशाख २०७८, बुधबार
एम२ चिपको व्यावसायिक उत्पादन शुरु

काठमाडौं ।

एप्पलले एम२ चिपको व्यावसायिक उत्पादन शुरु गरेको छ।

हालसम्म एप्पलको सबैभन्दा शक्तिशाली मानिएको एम१ चिपभन्दा अझ गुणस्तरीय हुने विश्वास लिइएको एम२ चिप कम्पनीले छिट्टै नै सार्वजनिक गर्ने बुझिएको छ।

निक्केइ एसियाको हालैको प्रतिवेदन अनुसार एक जानकार स्रोतले निक्केइलाई एम२ चिपको बिक्री छिटोमा आगामी जुलाइमा हुने बताएका छन्। स्रोतका अनुसार यस वर्षको उत्तरार्द्धमा बजारमा आउने म्याकबुकमा प्रयोग गर्ने गरी एम२ चिपको उत्पादन गर्न थालिएको हो।

एप्पलले यसअघि १४ र १६ इन्चका म्याकबुक प्रो उत्पादन गर्ने र तिनीहरुमा इन्टेलको नभइ आफ्नै सिलिकन चिप प्रयोग गरिने बताएको थियो।

उक्त चिप बनाउनका लागि एप्पललाई टीएसएमसीले साथ दिइरहेको बुझिएको छ।

निक्केइको रिपोर्ट अनुसार नयाँ एम२ चिप शुरुमा म्याकबुकमा प्रयोग गरिने र यिनीहरुलाई एम१ चिपजस्तै बिस्तारै अन्य डिभाइसहरुमा पनि राखिँदै जाने कम्पनीको योजना छ।

गत साता एप्पलले एम१ चिप प्रयोग भएका रिडिजाइन गरिएको आईम्याक तथा आईप्याड प्रोलगायत थुप्रै डिभाइसहरु सार्वजनिक गरेको थियो।

यसबारेमा एप्पलले कुनै आधिकारिक धारणा भने व्यक्त गरेको छैन। एप्पलका सीईओ टिम कूकले गत वर्षको वर्ल्डवाइड डेभलपर कन्फ्रेन्सका बेला पहिलोपटक इन्टेलबाट आफ्नै सिलिकन चिपमा प्रवेश गर्ने घोषणा गरेका थिए। यो कार्यान्व्यनमा आउनका लागि २ वर्ष लाग्ने पनि बताएका थिए।

प्रकाशित: १५ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...