Technology Khabar १३ जेष्ठ २०७७, मंगलवार
काठमाडौं ।
नेपालको कुल जनसंख्याको ७५ प्रतिशत जनतामा इन्टरनेट सेवाको पहुँच पुगेको छ ।
आजै अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय संसदको प्रतिनिधिसभामा सार्वजनिक गरेको आर्थिक वर्ष २०६७/७७ को आर्थिक सर्वेक्षणअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्ताहरुमध्ये सबैभन्दा धेरै ग्राहक नेपाल टेलिकमको रहेको छ ।
आर्थिक सर्वेक्षणअनुसार इन्टरनेट प्रयोगकर्ताहरुमध्ये २०७६ फागुनसम्म ४८.९ प्रतिशत नेपाल टेलिकमका ग्राहकहरु छन् ।
त्यसैगरि ३२.८ प्रतिशतले एनसेलको इन्टरनेट सेवा उपयोग गरिरहेका छन् भने स्मार्ट टेलिकम प्राविको १.१२ प्रतिशत इन्टरनेट सेवाग्राही छन् ।
इन्टरनेट सवा प्रदायकहरुको बजार हिस्सा भने १७.१५ प्रतिशत रहेको छ ।
नेपाल टेलिकमको विद्यमान एडिएसएस सेवालाई स्तरोन्नति गरी एफटिटिएसमा रुपान्तरण गर्ने र दिर्घकालमा स्थानीय टेलिफोनलाई फाइबर प्रविधिमा रुपान्तरण गरी इन्टरनेट, टेलिभिजन र भ्वाइस सेवा एउटै तारबाट प्रदान गर्न एफटिटिएच परियोजना अन्तरगत योजना गरिएको नेटवर्क ४ लाख रहेकोमा हालसम्म १ लाख ४२ हजार नेटवर्क क्षमता जडान भई ग्राहक संख्या ४३ हजार पुगेको उल्लेख छ ।
तथ्यांकअनुसार टेलिकमले अघिल्लो आवको तुलनामा यो आवमा इन्टरनेट ग्राहक बढाउन सफल भएको छ भने एनसेलका ग्राहक घटेको देखिन्छ ।
टेलिकमले करिब शुन्य दशमलब ५० प्रतिशत बढाएको छ भने एनसेलले अघिल्लो आवको तुलनामा यो आवमा करिब २ प्रतिशत इन्टरनेट ग्राहक गुमाएको छ ।

प्रकाशित: १३ जेष्ठ २०७७, मंगलवार