काठमाडौं ।
काठमाडौं । एप्पलले केहि महिना अघि सार्वजनिक गरेको नयाँ आइफोन ११ सिरिजको चर्चा अझैपनि हुँदैछ । एप्पलले नयाँ फीचर र डिजाइनसहित सार्वजनिक गरेको आइफोन ११ सिरिजले बजारमा राम्रो प्रतिकृया प्राप्त गरिरहेको छ ।
एप्पलले आइफोनको मूल्य महंगो राख्ने गरेपनि यो पटक सस्तो आइफोनको मूल्य अनपेक्षितरुपमा घटाएको थियो , जसले गर्दा बिक्री बढाउन समेत सहयोग गरेको रिपोर्ट आईरहेको छ ।
तर अहिले यहाँ भने विशेष किसिमको आइफोन ११ को बारेमा चर्चा गर्दैछौं ।
लक्जरियस रसियन ब्राण्ड क्याभियरले अहिलेसम्मकै सबैभन्दा महंगो आइफोन ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ । कम्पनीले नयाँ आइफोन ११ प्रो लाइनअपको डिस्कभरी नामक सिरिजमा आइफोनलाई न्यूनतम ७० हजार डलर अर्थात करिब ८० लाख रुपैयाँमा उपलब्ध गराउने भएको हो ।
सो आइफोन ११ प्रोमा कम्पनीले १८ क्यारेटको आधा किलो सुन र १३७ वटा हिरा राखेर त्यसको ब्याक कभर डिजाइन गरेको छ । कम्पनीले सोलारियर भेरिएन्टमा ल्याएको सो आइफोन ११ प्रोलाई अहिलेसम्मकै सबैभन्दा महंगो आइफोनको रुपमा लिईएको छ ।
यदि तपाईँले सो आइफोन ११ प्रो म्याक्सको ५१२ जीबी भेरिएन्ट किन्न चाहनुभयो भने त्यसको मूल्य ७१ हजार ५२० डलरसम्म पर्नेछ ।
क्याभियर र एप्पलका फ्यानहरुले आधा किलो सुन प्रयोग नभएको आइफोन समेत विशेष डिजाइन कभरका साथमा किन्न पाउँछन् । तपाईँले त्यसको लागि मार्स, टेरा र लुना अप्सन खरिद गर्नुपर्नेछ ।
यी सबै आइफोनमा क्याभियरले निकै चुनिएका आकाशिय पिण्डहरुबाट ल्याईएका स्टोनहरु प्रयोग गरिएको छ जसमा मार्स, सारेभ उल्कापिण्ड र चन्द्रमाबाट ल्याईएका स्टोनहरु क्रमशःप्रयोग भएका छन् । यी मोडलका आइफोन ११ को मूल्य ८ हजार १०० डलरदेखि ८ हजार २६० डलरसम्म रहेको छ ।
यसबाहेक क्याभियरले रिस्टवाच पनि विशेष डिजाइनमा ल्याएको छ । जसमा सोहि किसिमका स्टोनहरु प्रयोग गरिएका छन् । यी सबै लिमिटेड संख्यामा मात्र उपलब्ध हुनेछ । जसमध्ये १९ वटा चन्द्रमा, १९ वटा मंगल र ९९ वटा उल्कापिण्डबाट ल्याईएका छन् ।
यी सबै ग्याजेटहरु किन्दा ग्राहकले मिनरलोजिकल म्यूजिम अफ रसियन एकाडेमी अफ साइन्सेसबाट प्रमाणपत्र पनि प्राप्त गर्नेछ । यो म्यूजियम विश्वको सबैभन्दा ठूलो म्यूजियममध्ये एक हो जुन रसियाको मस्कोमा रहेको छ । एजेन्सी
प्रकाशित: १६ कार्तिक २०७६, शनिबार