रत्ननगरमा इन्जिनियरिङ कलेज स्थापना गरिने

  • Technology Khabar | १८ चैत्र २०७८, शुक्रबार
रत्ननगरमा इन्जिनियरिङ कलेज स्थापना गरिने
सांकेतिक तस्बिर

काठमाडौं ।

चितवनको रत्ननगरमा इन्जिनियरिङ कलेज स्थापना गरिने भएको छ।पोखरा विश्वविद्यालयले रत्ननगर नगरपालिकाको सहकार्यमा आफ्नो आङ्गिक कलेज स्थापना गर्न लागेको हो।

रत्ननगर नगरपालिकाको वडा नं. १२ स्थित जिरौनामा रहेको बाघदेवी आधारभूत विद्यालयमको जग्गामा कलेज सञ्चालन गर्न लागिएको हो। यहाँ एक वर्षभित्रमा कक्षा सञ्चालन गर्ने गरी कलेज स्थापना गर्न लागिएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए।

इन्जिनियरिङ कलेज सञ्चालनका लागि नगरपालिकाले विश्वविद्यालयसँग सम्झौता गरिसकेको छ।

“रत्ननगरमा सरकारी तहमा इन्जिनियर पढाउन कलेज स्थापना गर्ने निर्णय भएको छ। यसमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ,” नगरप्रमुख वनले भने।

कलेजमा पहिलो वर्षमै सिभिल इन्जिनियरिरङ विषयको पढाइ गरिने र क्रमशः अन्य विषयहरू थप्दै जाने योजना विश्वविद्यालयको छ। इन्जिनियरिङ पढाइ हुने चितवनमा सरकारी कलेज यो दोस्रो हो। यसअघि त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामपुर इन्जिनियरिङ कलेज सञ्चालनमा रहेको छ।

विश्वविद्यालयका रजिस्ट्रार डा. विनोद भण्डारीले स्थापनाको २५ वर्षपछि विश्वविद्यालयले पोखरा बाहिर रत्ननगरमा पहिलो पटक आङ्गिक कलेज सञ्चालन गर्न लागेको बताए।

“हामी आगामी शैक्षिक सत्रबाट नै रत्ननगरका कक्षा सञ्चालन गर्ने योजनामा छौँ,” उनले भने। गोरखापत्रबाट

प्रकाशित: १८ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...