
काठमाडौं ।
बिटक्वाइनलाई वैधानिकता दिने पहिलो देशहरू मध्ये एक एल साल्भाडोरका वित्त मन्त्री अलेजान्ड्रो जेलायाले उनको देश आफ्नो पहिलो बिटकोइन बन्ड जारी गर्न तयार भएको तर सही समयको लागि पर्खिरहेको बताएका छन्।
यसअघि, एल साल्भाडोरले मार्च १५ र २० बीचमा १ अर्ब डलर मुल्यको बण्डको सार्वजनिक गर्ने अनुमान गरिएको थियो। तर हालसम्म निस्कासन हुन सकेको छैन्।
“हामी यसका लागि तयार छौं,” जेलायाले एक समाचार अन्तर्वार्तामा भने। यद्यपी उनले यसका लागि सरकार राष्ट्रपति नायब बुकेलेको अनुमतिको पर्खाइमा रहेको बताए। बन्डको लागि अहिले सही समय हो कि भनेर सोध्दा, जेलायाले भने, “मलाई लाग्छ हामीले अझै केही दिन पर्खनुपर्नेछ।”
उनले मार्च र अप्रिलको बीचमा यसको प्रक्षेपण गर्न चाहेको र सेप्टेम्बरपछि नलिने बताए। उनले जेठ वा असारमा बजारको अवस्था अलि फरक हुने बताए। सेप्टेम्बरपछि अन्तर्राष्ट्रिय बजारमा गएमा पूँजी जुटाउन गाह्रो हुने बताएका थिए।
यसअघि, जेलायाले बन्डको सुरुवातको समय समस्या हुनसक्ने बताएका थिए। युक्रेन युद्धको सन्दर्भमा उनले अन्तर्राष्ट्रिय बजारलाई असर गरिरहेको बताए । बुकेले गत वर्ष यी बन्डहरूको बिक्रीबाट कोषको साथ बिटक्वाइन शहर सिर्जना गर्ने घोषणा गरे। यी ऋणपत्रमा वार्षिक ६.५ प्रतिशत ब्याज प्राप्त हुनेछ। उनले यस कोषको आधा बिटक्वाइन पूर्वाधार र जियोथर्मल इनर्जीमा लगानी गर्ने बताए।
यद्यपि, जेलायाले यो ऋणपत्र सरकारले जारी नगर्ने तर राज्य सञ्चालित थर्मल पावर कम्पनी ला जियोले जारी गर्ने पछि बताएका थिए। सार्वभौम ग्यारेन्टीहरू यी बन्डहरूको लागि एल साल्भाडोर सरकारले प्रदान गर्नेछ।
एल साल्भाडोरको सरकारले बिटक्वाइनलाई कानूनी मान्यता दिनुले अर्थतन्त्रलाई बढावा दिन फाइदा भएको बताएको छ।
केही देशहरूले क्रिप्टोकरेन्सीलाई प्रवर्द्धन गर्ने योजना बनाइरहेका छन्, जबकि युरोपेली संघले उच्च जोखिमको कारणले क्रिप्टोकरेन्सीहरू बेवास्ता गर्नुपर्ने बताएको छ। अमेरिका लगायत धेरै देशमा क्रिप्टोकरेन्सीका सम्बन्धमा कानुन बनाउने काम पनि भइरहेको छ।
प्रकाशित: १० चैत्र २०७८, बिहीबार