
काठमाडौं ।
अमेरिकाको एरिजोना राज्यले एप्पल वालेट एपमा राखिएको सवारी चालक अनुमतिपत्रलाई मान्यता दिने भएको छ।
गत वर्षको सेप्टेम्बरमा एप्पलले एप्पल वालेटमा राखिएको राष्ट्रिय परिचय पत्र तथा सवारी चालक अनुमतिपत्रलाई मान्यता दिन अमेरिकाका थुप्रै राज्यहरुसँग छलफल भइरहेको बताएको थियो।
यसै क्रममा हालै एरिजोना राज्यले उक्त कुरालाई आधिकारिक रुपमा लागू गरेको जीएसएमएरिनाले जनाएको छ।
एरिजोनाको परिचयपत्र एप्पल वालेट एपमा राख्नको लागि वारेट एपमा माथिपट्टि रहेको + बटन थिच्नुपर्छ। यसपछि सवारी चालक अनुमतिपत्र वा परिचयपत्रको दुवै पट्टिको स्क्यान गरेर राख्न भनिन्छ।
यसो गरिसकेपछि उक्त यूजरले सेल्फी खिचेर फोटो राख्नुपर्छ जसलाई उक्त राज्यको यातायात विभागमा रहेको विवरण र फोटोसँग तुलना गरिन्छ। यसलाई अन्तिम अनुमोदन गर्ने वा नगर्ने भन्ने अधिकार राज्यसँगै रहेको हुन्छ।
सवारी चालक अनुमतिपत्र र राज्यको परिचय पत्र वालेटमा राख्ने सुविधा आईफोन ८ वा त्योभन्दा माथिका आईओएस १५.४ भर्सन चलाइरहेका डिभाइसमा उपलब्ध गराइएको जीएसएमएरिनाले जनाएको छ।
यसबाहेक वाचओएस ८.४ वा त्योभन्दा नयाँ भर्सन चलाइरहेका एप्पल वाच सिरिज ४ तथा त्यसयताका डिभाइसमा पनि यो वालेट उपलब्ध भएको बुझिएको छ।
प्रकाशित: १० चैत्र २०७८, बिहीबार