Technology Khabar ७ चैत्र २०७८, सोमबार
काठमाडौं ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालमा नै पहिलो पटक विद्युतीय (ईलेक्ट्रिक) स्कुटर निर्माण गरेको छ। नास्ट लुम्बिनी प्रदेशसँगको सहकार्यमा विद्युतीय स्कुटरको प्रोटोटाइप बनाएको हो।
हाल सो प्रोटोटाइपको परीक्षण भईरहेको र हालसम्मको अवस्थामा सो सफल भएको प्रविधि संकायका प्रमुख रविन्द्र ढकालले जानकारी दिए।
“लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा नास्टले सम्पूर्ण प्रविधिहरु तयार पारेर शुन्यबाट विद्युतीय स्कुटरको प्रोटोटाइप तयार पारेको हो। हाम्रो परीक्षण अहिलेसम्म सफल भएको छ,” उनले टेक्नोलोजीखबरसँग भने।
विद्युतीय स्कुटरको प्रोटोटाइप तयार पार्न लुम्बिनी प्रदेशको योजना आयोगले सहयोग गरेको थियो भने प्राविधिक र भौतिक कार्यहरु नास्टको अनुसन्धान केन्द्रमा गरिएको थियो।
“यो बिल्कुलै हाम्रो आरएण्डीबाट आएको तथ्य र डाटाहरुको आधारमा तयार पारीएको हो। यो निकै किफायती र संभव देखिएको छ,” ढकालले भने।
हाल एउटा प्रोटोटाइप बनाएको भएपनि भविश्यमा नेपालमा नै विद्युतीय स्कुटर उत्पादनको संभावना रहेको तर त्यसको लागि थप अध्ययन अनुसन्धान हुनुपर्ने उनको भनाई छ।
“उर्जा मन्त्रालयले समेत खेर जाने विद्युत खपत गर्ने अनुसन्धान गर्न भनेको र लुम्बिनी प्रदेशले समेत सहयोग गरेपछि प्रोटोटाइप बनाएका हौं। यसमा थप अध्ययन र अनुसन्धान गर्नुपर्ने हुन्छ। यसले नेपालमा नै विद्युतीय स्कुटर निर्माण गर्न संभव भएको देखाएको छ,” ढकालले भने।
उक्त विद्युतीय स्कुटर परियोजनाको नेतृत्व प्रलाद गुप्ताले गरेका थिए। नास्टका अधिकारीहरुले सो स्कुटर चलाएर परीक्षणसमेत गरिसकेको छ र आगामी दिनमा सरकारको योजनाअनुसार काम गर्ने बताएको छ।
सो विद्युतीय स्कुटर प्रोटोटाइपको बारेमा आगामी १९ गते सार्वजनिक कार्यक्रममार्फत बिस्तृत जानकारी सार्वजनिक गर्ने नास्टको योजना रहेको छ।
प्रकाशित: ७ चैत्र २०७८, सोमबार