
काठमाडौं ।
सरकारले फेसबुक र युट्युबसहित सामाजिक संजालमा गरिने विज्ञापनलाई नियमनको दायरामा ल्याउने तयारी गरेको छ।
यसको लागि सरकारले कानूनी प्रकृयामार्फत छिटै निर्देशिका जारी गर्ने तयारी गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको विज्ञापन बोर्डमार्फत सामाजिक संजालमा गरिने विज्ञापनलाई नियमन तथा करको दायरामा ल्याउने भएको हो।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता विनोदप्रकाश सिंहले केहि दिनभित्रै विज्ञापनलाई नियमन गरिने जानकारी दिए।
“हामीले फेसबुक युट्युबलगायतका सामाजिक संजालहरुमा गरिने विज्ञापनका लागि छिटै निर्देशिका जारी गर्नेछौं,” उनले भने, “हाल त्यस्ता विज्ञापनहरु नियमन र करको दायरा भन्दा बाहिर छन् ।”
उनले कसरी नियमन गरिने भन्ने स्पष्ट नपारेपनि विज्ञापन बोर्डजस्ता निकायहरुले निर्देशिका बनाएर जारी गर्ने संकेत गरे।
यस्तो विज्ञापन दिने विज्ञापन दाताहरु तथा विज्ञापनबाट आम्दानी गर्ने सामाजिक संजाल तथा अन्य प्लेटफर्महरु समेत दायरा भन्दा बाहिर भएको भन्दै नियमन गर्ने तयारी गरिएको हो।
हाल नेपाल राष्ट्र बैंकले त्यस्ता प्लेटफर्महरुमा गरिने विज्ञापनको लागि निश्चित रकम डलरमा भुक्तानी गर्न सकिने सुबिधा दिएको छ भने त्यस्ता प्लेटफर्महरुबाट गरिने आम्दानीमा न्यून राजस्व उठाउने गरेको छ।
तर अब भने सरकारले स्पष्टरुपमा कानूनमार्फत सामाजिक संजालमा हुने विज्ञापनहरुलाई नियमन गर्ने भएको हो ।
प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार