
काठमाडौं ।
छिमेकी देश भारतको प्रमुख राजनीतिक दल भारतीय जनता पार्टी(बीजेपी)का राष्ट्रिय अध्यक्ष जेपी नड्डाको ट्विटर एकाउन्ट ह्याक भएको छ। उनको एकाउन्ट ह्याक गरेपछि रुस र युक्रेनको सहयोगसँग सम्बन्धित ट्विट गरिएको थियो।
उनको ट्वीटर एकाउन्ट आज बिहान १० बजेतिर ह्याक भएको भारतीय मिडियाहरुले जनाएका छन्।
नड्डाको ट्वीटर एकाउन्टमा ह्याकरले लेख्यो, “माफ गर्नुहोस् मेरो एकाउन्ट ह्याक भएको छ। रसियालाई मेरो सहयोग चाहिन्छ किनभने दान गर्न आवश्यक छ।”
अर्को ट्वीटमा लेखिएको छ, “युक्रेनका जनताको साथमा उभिनुहोस्, क्रिप्टोकरेन्सी दान गर्नुहोस्।” तर, केही समयपछि फेरि सो डिलिट गरियो।
मिडिया रिपोर्टकाअनुसार भारतीय अधिकारीहरूले यसबारे अनुसन्धान थालेका छन्। भारतका सीप विकास तथा उद्यमशीलता मन्त्री राजीव चन्द्रशेखरले ह्याकिङको अनुसन्धान गरिरहेको बताए।
जेपी नड्डाले बिहान भारतको यूपी विधानसभा चुनावलाई लिएर ट्वीट गरेका थिए।
प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार