२०२२ मा चिप अभावको समस्या समाधान नभए पनि सहज हुँदै जाने फक्सवागनको अपेक्षा

  • Technology Khabar | ५ फाल्गुन २०७८, बिहीबार
२०२२ मा चिप अभावको समस्या समाधान नभए पनि सहज हुँदै जाने फक्सवागनको अपेक्षा

काठमाडौं ।

जर्मन कार निर्माता कम्पनी फक्सवागनले २०२२ मा सेमिकन्डक्टर चिप अभाव केही सहज हुने अपेक्षा गरेको छ।

केही समययता विश्वलाई नै प्रभाव पारिरहेको चिप अभाव यो वर्ष पनि जारी रहने तर वर्षको उत्तरार्द्धमा भने उत्पादनमा तीव्रता आउने कम्पनीका सीईओ हर्बर्ट डाइसले बुधबार बताएको रोयटर्सले उल्लेख गरेको छ।

‘आपूर्तिको अवस्था राम्रो हुँदै गएको छ तर २०२२ मा हामीले बिक्री गर्न सक्नेजति कार उत्पादन गर्न सक्ने छैनाैं। तर हामीले विशेष गरी वर्षको उत्तरार्द्धमा उत्पादन बढाउन सकिने अवसरहरु देखेका छाैं’,उनले भने।

विश्वभरका कार निर्माताहरु कोभिड-१९ का कारण आपूर्ति श्रृङ्खलामा गडबडी आएपछि भएको चिप अभावका कारण मर्कामा परिरहेका छन्।

यसले गर्दा कन्जुमर कम्पनीहरुमा सेमिकन्डक्टर चिपको माग अझ चुलिँदै गएको छ।

फक्सवागनले फेब्रुअरीको शुरुवातमा चिप अभावका कारण आफ्नो वल्फ्सबर्गमा रहेको फ्याक्ट्रीका केही उत्पादन लाइनमा रात्रीकालीन शिफ्ट बन्द गरिने जानकारी दिएको थियो।

प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...