
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीले गत वर्ष सार्वजनिक गरेको रेडमी १० स्मार्टफोनलाई कुनै स्पेसिफिकेशन परिवर्तन नगरी त्यसको २०२२ भर्सन ल्याउने भएको छ।
यसमा गत वर्षको रेडमी १० भर्सनमा रहेको ६.५ इन्चको ९० हर्ज रिफ्रेश रेटयुक्त एलसीडी डिस्प्ले रहनेछ भने प्रोसेसर पनि पुरानै मिडियाटेकको हिलियो जी८८ राखिएको हुनेछ।
यसबाहेक पावरका लागि १८ वाटको फास्ट चार्जिङसहितको ५००० एमएएचको ब्याट्री समावेश हुनेछ।
रेडमी १० को २०२२ मोडलमा पनि पहिले झैं ४ जीबी र्यामका साथमा ६४ र १२८ जीबी गरी दुई भेरियन्टको आन्तरिक स्टोरेज दिइनेछ।
फोटोग्राफीका लागि पछाडि ५० मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेटअप रहनेछ। फिंगरप्रिन्ट सेन्सर साइडमा दिइनेछ भने सफ्टवेयरका हकमा एन्ड्रोइड ११ तथा एमआईयूआई १२.५ नै रहने जीएसएमएरिनाले जनाएको छ।
यसको मूल्य र उपलब्धताबारे कुनै जानकारी नदिइए पनि यो डिभाइस पेबल ब्ल्याक, कार्बन ग्रे तथा सी ब्लू गरी तीन रंगमा उपलब्ध हुने बुझिएको छ।
प्रकाशित: ४ फाल्गुन २०७८, बुधबार