
काठमाडौं ।
पछिल्लो दिनमा क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङको कारोबार बढिरहेको सन्दर्भमा नेपालमा गैरकानूनी रहेको क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङको कारोबार गर्नेको सूचना दिन नेपाल प्रहरीले आग्रह गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गैरकानुनी कारोबारमाथि निगरानी भइरहेको भन्दै सर्वसाधारणलाई सार्वजनिकरुपमा नै यस्तो अनुरोध गरेको हो।
गैरकानुनी क्रियाकलापमा संलग्न भएको पाइए कडाइका साथ कारबाही गर्नेसमेत आइतबार ब्यूरोले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
गैर कानूनी क्रियाकलापमा संलग्न व्यक्ति वा संस्थाका बारेमा जानकारी भए प्रहरी कार्यालयमा सूचना उपलब्ध गराएर सहयोग गर्न अनुरोध गरेको हो।
‘यस्ता गैर कानुनी क्रियाकलापमा संलग्न व्यक्ति वा संस्थाका बारेमा कुनै जानकारी भए यस कार्यालाई सूचना उपलब्ध गराई सहयोग गरिदिनुहुन समेत अनुरोध गरिएको छ’, ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा भनिएको छ।
प्रहरीले नेपाल राष्ट्र बैंक ऐनअनुसार कसूर गर्ने व्यक्तिलाई कसूर सम्बन्धित बिगो असुल गर्ने र बिगोको ३ गुणासम्म जरीवाना वा ३ वर्षसम्म कैद वा दुबै सजाय र बिगो कायम गर्न सकिने जनाएको छ। यसका साथै बढिमा १० लाख रुपैयाँसम्म जरिवाना तथा ३ वर्ष कैद वा दुबै सजाय गर्न सकिने बारेमा पनि चेतावनी दिएको छ।

हालै मात्र अर्थ मन्त्रालयले समेत नेपालमा गैरकानूनीरुपमा भईरहेको क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङको बारेमा अध्ययन कमिटी गठन गरेको छ। जसमा नेपाल प्रहरीका प्रतिनिधी समेत तोकिएको छ।
सम्बन्धित समाचार-
क्रिप्टोकरेन्सी कारोबार र अनलाइन नेटवर्किङको बारेमा अध्ययन गर्न कार्यदल गठन
प्रकाशित: १ फाल्गुन २०७८, आईतवार