
काठमाडौं ।
अन्तरिक्षसम्बन्धी स्टार्टअप कम्पनी आस्त्राले नासाका लागि प्रक्षेपण गरेको क्युबस्याट असफल भएको छ।
स्पेसन्यूजको रिपोर्ट अनुसार पहिलो चरणबाट अलग्गिएको केही समयमै रकेट ३.३ यानको माथिल्लो भाग नियन्त्रणबाहिर गएपछि नासाका लागि कम्पनीको पहिलो मिसन सफल हुन नसकेको हो।
उक्त रकेट प्रक्षेपणका बेला राम्रै भएको तर पेलोड छुट्टिने समयमा समस्या आएको भिडियो फूटेजमा देख्न सकिने इन्ग्याजेटले उल्लेख गरेको छ।
उक्त रकेटमा नासाको ईएलएएनए ४१ नानोस्याटेलाइटका शैक्षिक प्रक्षेपण मिसनहरु राखिएका थिए। रकेटमा रहेका ४ मध्ये तीन क्युबस्याटहरु विभिन्न विश्वविद्यालयहरुका रहेका थिए।
ती क्युबस्याटहरु ड्र्याग सेल, अन्तरिक्षको मोसम मोडलिङ तथा क्वान्टम जाइरोस्कोपसम्बन्धी परीक्षणका लागि पठाउन लागिएका थिए।
चोथो क्युबस्याट भने नासाको नै रहेको थियो जुन क्युबस्याटहरुको निर्माण र निरीक्षण छिटो र कम खर्चमा कसरी गर्न सकिन्छ भन्ने परीक्षणका लागि पठाइन लागेको थियो।
मिसन असफल भएपछि एउटा विज्ञप्ति जारी गर्दै आस्त्राले पेलोडको क्षतिका लागि क्षमा माग्दै उक्त घटनाका बारेमा तथ्याङ्कको समीक्षापछि थप विवरण उपलब्ध गराउने जानकारी दिएको छ।
उक्त प्रक्षेपण यसअघि पनि रेञ्जमा आएको समस्याका कारण थुप्रैपटक ढिलाई भएको थियो।
प्रकाशित: २९ माघ २०७८, शनिबार