
काठमाडौं ।
नेपालमा सञ्चालनमा रहेका सबै भुक्तानी सेवा प्रणाली सञ्चालन गर्ने कम्पनीहरुले अन्य भुक्तानी सेवा प्रदायकको प्रणालीमा अन्तरआबद्धता गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीको अन्तरआबद्धता (इन्टरअपरेबिलिटी) तथा पहुँच(एक्सेस) सम्बन्धी व्यवस्था कार्यान्यनमा ल्याएसँगै भुक्तानी प्रणालीमा अन्तरआबद्धता लागू भएको हो।
राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै ६ महिनाभित्र अन्तरआबद्धता सम्बन्धी व्यवस्था कार्यान्यनमा ल्याउन सम्पूर्ण भुक्तानी सेवा प्रदायकलाई निर्देशन दिएको हो।
अब यो निर्देशनसँगै एउटा कम्पनीको मोबाइल वालेटबाट अर्को कम्पनीको वालेटमा पैसा पठाउन वा प्राप्त गर्न सकिनेछ।
सो व्यवस्था अनुसार यो नयाँ निर्देशन राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली संचालक र सेवा प्रदायकहरुबाट संचालित साना मूल्यका भूक्तानी उपकरण तथा सेवा जस्तैः मोबाइल बैंकिङ, मोबाइल वालेट, क्यूआर कोड आदिमा लागू हुनेछ।
साना मूल्यका भुक्तानी प्रणालीमा आवद्ध अन्य सहभागी संस्था र राष्ट्र बैंकले समय समयमा साना मूल्यका भुक्तानी प्रणालीअन्तर्गत पर्ने गरी परिभाषित गरेको कुनै पनि साना मूल्यका भुक्तानी उपकरणमा समेत यो व्यवस्था लागू हुने राष्ट्र बैंकद्वारा जारी निर्देशनमा उल्लेख छ।
तर भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरूले अन्तरआवद्धतासम्बन्धी सेवा दिँदा सेवाग्राहीहरुबाट प्राप्त तथ्यांकको सुरक्षा तथा गोपनियता कायम गर्नुपर्ने व्यवस्था गरेको छ। यसरी तोकिएको सेवा प्रवाह गर्दा बाहेक अन्यत्र त्यस्तो तथ्यांकको प्रयोग नहुने सुनिश्चितता गर्न समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।
साथै साना मूल्यका भुक्तानी प्रणाली सञ्चालन गर्न अनुमतिपत्र प्राप्त संस्थाले अन्य कुनै पनि अनुमतिपत्र प्राप्त संस्थालाई आफ्नो भुक्तानी प्रणालीमा पहुँच रोक्ने गरी नियमहरु बनाउन वा प्रविधिको प्रयोगमा रोक लगाउन पाउने छैनन् ।
त्यस्तै राष्ट्र बैंकबाट अनुमतिप्राप्त संस्थाले अन्तरआबद्ध कायम गर्दा आपसमा सम्झौता गर्न सक्नेछन् भने दूरसञ्चार सञ्जाल उपकरण प्रयोग गरेर हुने कारोबार तथ्यांकको जानकारी आदान प्रदानका लागि साझा मापदण्ड बनाउन सक्नेछन् ।
Circular_04_78-79प्रकाशित: २१ माघ २०७८, शुक्रबार