Technology Khabar १६ भाद्र २०७३, बिहीबार
काठमाडौं ।
काठमाडौं, १६ भदौ । क्यान महासंघले यहि भदौ २३ गतेदेखि आयोजना गर्न लागेको क्यान कमटेक २०१६ को तयारी पुरा भएको जनाएको छ । क्यानले बुधवार पत्रकार सम्मेलन गर्दै तयारी पुरा भएको बताएको हो ।
सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शन, यो क्षेत्रको विकास र विस्तारका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने तथा सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले क्यान महासंघले क्यान कमटेक २०१६ (इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजी प्रदर्शनी) गर्न लागेको जनाएको छ ।
सुबिसु केवलनेट प्रा. लि. ले ग्राहकहरुका लागि क्लियर टिभि तथा ईन्टरनेट सेवामा विशेष र आकर्षक योजना ल्याउने तयारी गरेको छ । साथै मेलामा सुबिसुले प्रदान गर्ने विभिन्न सेवाहरुका बारेमा अधिक्तम जानकारी दिनेछ ।
सामसुङले नेपालका लागि जे सिरिजका स्मार्टफोनहरु प्रर्दशन गर्ने छ भने मुख्य आकर्षणको रूपमा अवलोकनकर्ताहरुले नेपालमा पहिलो पटक सामसुङको नयाँ फ्ल्यागशिप फोन ग्यालेक्सी नोट सेभेन ल्याउने भएको छ । साथै सामसुङको भच्र्यूअल रियालिटी डिभाइस गियर भिआर अनुभव पनि लिन सकिने क्यानले उल्लेख गरेको छ ।
मेलामा वेभसर्फरले वायरलेश इन्टरनेटको सुविधा दिइरहेको उपत्यका र उपत्यकाका नजिकका शहरहरुमा स्काइ केबल टिभी ,मेघा केबल, नार्गाजुन केबल, चन्द्रागिरी डिजिटल केबल लगाएतका विभिन्न केबल टिभीहरुसँग सहकार्य गरेर सस्तो, सुलभ तथा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवाको बारेमा जानकारी दिनेछ ।
नेपाल टेलिकमले रु. ५०/–मा रु. ५०/– कै ब्यालेस् भएको जिएसएम प्रिपेड सिम कार्ड उपलब्ध गराउने बताईएको छ ।
मेला अवलोकनका लागि प्रवेश शुल्क रु ५०/–तोकिएको छ भने विद्यार्थीहरुलाई रु २५/–तोकिएको र सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुट समेत प्रदान गरीने क्यानले उल्लेख गरेको छ । यस पटकको प्रदशनीमा १,५०,००० अवलोकनकर्ताहरुले अवलोकन गर्ने क्यानको अपेक्षा छ ।
यस पटकको प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुट सहितको प्याकेज तथा उच्च गतिको इन्टरनेट उपलब्ध गराईनेछ भने टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर ल्याउने बताईएको छ । बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ तथा नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध हुनेछन् ।
यसै गरि सूचना संचार तथा प्रविधिको विकास बिस्तार र प्रबर्दन गर्ने उदेश्यले यहि असोज १४ देखि १८ गते सम्म क्यान महासंघ जिल्ला शाखा कैलाली र असोज १० देखि १९ गते सम्म क्यान महासंघ जिल्ला शाखा मकवानपुरमा क्यान इन्फोटेक २०१६ हुन गइरहेको क्यान महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १६ भाद्र २०७३, बिहीबार