काठमाडाैंमा डाटा सेन्टरको भवन बनाउँदै वर्ल्डलिंक कम्युनिकेशन्स, टेन्डर आह्वान

  • Technology Khabar | १७ माघ २०७८, सोमबार
काठमाडाैंमा डाटा सेन्टरको भवन बनाउँदै वर्ल्डलिंक कम्युनिकेशन्स, टेन्डर आह्वान

काठमाडौं ।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले काठमाडाैंमा डाटा सेन्टर भवन बनाउनका लागि टेन्डर आह्वान गरेको छ।

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले हालै प्याकेज ए अन्तर्गतको सिभिल वर्कका लागि भन्दै योग्यता पुगेका संस्थाहरुबाट टेन्डर आह्वान गरेको हो।

इच्छुक संस्थाहरुले आफ्नो कम्पनी दर्तासम्बन्धी दस्तावेजकसहित ई-मेलमार्फत् योग्यताको शर्तहरु प्राप्त गर्न सक्ने सूचनामा उल्लेख छ। त्यसपश्चात् मुख्य बोलकबोल तथा प्राविधिक दस्तावेजका लागि आवेदन दिन सकिनेछ।

यसपछि अनलाइन प्रि बिड मिटिङ हुने र त्यसका लागि सबै योग्यता पुगेका बोलकबोलकर्ताले आगामी फेब्रुअरी ७ अर्थात् माघ २४ गतेभित्र आफ्ना प्रश्नावली र स्पष्टिकरण ईमेलमार्फत् पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ।

बोलकबोलकर्ताले प्राविधिक र मूल्यसँग सम्बन्धित दुई ओटा टेन्डर हाल्नुपर्ने र ती टेन्डरहरु सिलबन्दी रुपमा वर्ल्डलिंक कम्युनिकेशन्सको मुख्यालय जावलाखेलमा आगामी फेब्रुअरी १४ अर्थात् फागुन २ गतेभित्र बुझाउन सकिनेछ।

कम्पनीकाअनुसार देशभरमा १४ ओटा डाटा सेन्टर निर्माणका लागि समग्रमा ३ अर्ब रुपैयाँको योजना बनाइएको छ।

‘काठमाडाैंबाहेक अन्य ५ ठाउँमा जग्गा अधिग्रहणको काम सम्‍पन्न भएर डिजाइनको प्रक्रियामा रहेको छ भने बाँकी ठाउँमा जग्गा अधिग्रहणको काम भइरहेको छ’, कम्पनीका एक अधिकारीले टेक्नोलोजीखबरलाई भने।

उनका अनुसार गत वर्ष नै काम शुरु भइसक्नुपर्नेमा पहिलो पटक भएकाले र कोभिड-१९ का कारण जग्गा अधिग्रहण, टी३ डिजाइनका लागि पनि समय लागेकाले एक वर्ष ढिला हुन पुगेको हो।

“कोभिडले गर्दा योजनालाई १ वर्ष ढिला गर्नुपर्यो अब धमाधम काम शुरु हुन्छ,” उनले भने।

कम्पनीले यी डाटा सेन्टरहरु अन्तराष्ट्रिय स्तरको बनाउन लागेको छ। वर्ल्डलिंकले गत वर्ष माघमा नै पत्रकार सम्मेलन गरेर नेपालभर १४ स्थानमा डाटा सेन्टर बनाउने घोषणा गरेको थियो ।

कम्पनीले काठमाडौंसहित भरतपुर, बुटवल, बिरगंज, कोहलपुर, अत्तरिया सुर्खेत, भक्तपुरलगायतका १४ स्थानमा डाटा सेन्टर स्थापना गर्नेछ। ती डाटा सेन्टरलाई सबैले उपयोग गर्नसक्ने र त्यसमा ५०० भन्दा बढी र्याक राखिने जनाएको छ।

प्रकाशित: १७ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...