अपहरित भएका पठाओ राइडर अनलाइन बूकिङमा नगएको खुलासा

  • Technology Khabar | १० माघ २०७८, सोमबार
अपहरित भएका पठाओ राइडर अनलाइन बूकिङमा नगएको खुलासा

काठमाडौं ।

कोटेश्वरबाट शनिबार राति अपहरण तथा लुटपाटमा परेका भनिएका पठाओ राइडर अफलाइन बूकिङमा गएको खुलासा भएको छ।
राइडर अनलाइन बूकिङमा गएको देखिएन
पठाओले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त दिन अपहरण र लुटपाटमा परेका भनिएका पठाओ राइडर अनलाइन बूकिङमा नभई अफलाइनमा गएको बताएको छ।
कम्पनीले यस्तो अफलाइन राइड सुरक्षित र सुनिश्चित दुवै नहुने भएकाले अफलाइन राइड लिने र दिने काम नगर्न बारम्बार सेवाग्राही र राइडरलाई सुझाउँदै आएका पनि बताएको छ।
कम्पनीका अनुसार ‘पठाओ’ अनलाइन राइड सेयरिङ प्लाटफर्म भएकाले सेवा लिन र दिन मोबाइल एप मार्फत बुकिङ गर्न आवश्यक हुन्छ। यसरी सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको विवरण, सेवाग्राही र राइडर दुवैको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको विवरण पठाओको एपमा उपलब्ध हुन्छ ।
अपहरितले सामाखुसीदेखि कोटेश्वरसम्म अन्तिम अनलाइन राइड लिएको 
पठाओले उक्त घटनाका बारेमा मोबाइल एपको विवरण अनुसार अपहरण र लुटपाटमा पर्ने व्यक्ति प्रविन राईले घटना हुनु अगाडि उक्त दिन सामाखुसी देखि कोटेश्वरसम्म अन्तिम राइड लिएको देखिएको जानकारी दिएको छ।
धापाखेल राइड गरेको एपमा देखिएन
कम्पनीका अनुसार रातको ११ बजेर १८ मिनेट जाँदा सामाखुसीबाट लिएको राइड ११ बजेर ३३ मिनेट जाँदा कोटेश्वरमा टुंगिएको देखिएको छ। कोटेश्वरदेखि घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध नभएको कम्पनीले उल्लेख गरेको छ।
यसरी हेर्दा पठाओको सेवा लिँदै वा दिँदै गर्दा घटना भएको नदेखिको कम्पनीको दावी छ। राईले बाटोमा भेटेका व्यक्तिलाई बार्गेनिङ गरेर राइड लिएको देखिएको र पठाओको नियम अनुसार सरासर गलत रहेको विज्ञप्तिमा उल्लेख छ।
अफलाइन राइड सेवा लिने र दिने दुवैलाई किन असुरक्षित ?
सडकमा बसेर यात्रुलाई बार्गेनिङ गरी राइड लिने प्रवृत्ति देखि सावधान हुनु आवश्यक रहेको कम्पनीको भनाई छ।
मोबाइल एपमार्फत राइड रिक्वेस्ट नगरी वा रिक्वेस्ट गरेको राइड क्यान्सिल गरी अफलाइन राइड लिँदा सेवाग्राही र राइडर दुवैको व्यक्तिगत विवरण र राइड तथा सवारीको विवरण रेकर्डमा नहुने हुँदा सुरक्षा सम्वेदनशीलता बढ्ने बताइएको छ।
यसकारण यो घटनामा जस्तै आपराधिक मानसिकता भएका मानिसले गलत फाइदा उठाउन सक्ने कम्पनीको बुझाई छ्।
अनलाइन राइडको समयमा कसैले गलत गरिहालेमा व्यक्तिगत, राइड र सवारीको जानकारी मोबाइल एप तथा पठाओको आईटी सिस्टममा हुने भएकाले सप्रमाण प्रहरीमा उजुरी दिन सकिने र सो जानकारीका आधारमा पीडकलाई नियन्त्रणमा लिन प्रहरी प्रशासनलाई समेत सहज हुने बताइएको छ।
नेपालको पहिलो राइड सेयरिङ बीमा शुरु गरेको पठाओले पठाओ एपमार्फत सहजीकरण गरी उपलब्ध सेवाहरु प्रयोग गर्ने सेवाग्राही तथा राइडरहरुको एक लाखसम्मको दुर्घटना उपचार बीमा र सवारी दुर्घटनाका कारण मृत्यु वा अपांगता हुन पुगेको खण्डमा दस लाखसम्म ब॥मा दाबी गर्न सकिने विज्ञप्तिमा उल्लेख गरेको छ। कम्पनीले अफलाइन राइड लिँदा बीमा सुविधा समेत नपाइने प्रस्ट पारेको छ।
यसै हिसाबले यस्ता आकस्मिक र आधिकारिक घटनाबाट बच्नका लागि सुरक्षित, सुनिश्चित राइडका लागि अनलाइन राइड मात्र लिन र दिन र कम्पनीले सबैलाई अनुरोध गरेको छ।
सम्बन्धित समाचार

प्रकाशित: १० माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार