
काठमाडौं ।
अब ट्राफिक जरिबाना तिर्नका लागि बैंकमा लाइन बस्नुनपर्ने भएको छ।
महानगरीय ट्राफिक महाशाखाले आजदेखि ट्राफिक नियम उल्लङ्घन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिबाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ।
यसअघि जरिबाना तिर्न ग्लोबल आईएमई बैंकमा गएर लाइन बस्नुपर्ने अवस्था थियो।
हाल ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै विभिन्न ६४ वटा बैंकको मोबाइल बैंकिङ, डिजिटल वालेटका १४ वटा जरिवाना भुक्तानी सेवा प्रदायक संस्थाहरु र क्यूआर कोडमार्फत् समेत जरिबाना तिर्न सकिने प्रणाली सञ्चालनमा छन् ।
आज एक कार्यक्रमका बिच ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा नगद पैसा हालेर ट्राफिक जरिबाना तिर्न सकिने प्रविधिको उद्घाटन गरेका हुन्।
कार्यक्रममा बोल्दै एसएसपी जोशीले ट्राफिक सेवालाई थप प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई ट्राफिक जरिबाना तिर्न सरल एव सहज होस भन्ने उद्देश्यले यो मेसिनको जडान गरेको बताए।
उनले आम सेवाग्राहीको सहजताको लागि किअस्क मेसिन जडानको लागि प्रभु-पेलाई हार्दिक धन्यबाद दिँदै थप ट्राफिक कार्यालयहरुमा सेवा बिस्तार गर्न समेत सहयोग हुने अपेक्षा व्यक्त गरे।

प्रभु-पेका अध्यक्ष कुसुम लामाले ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गरी किअस्क मेसिन जडान गरेर सेवा विस्तार गर्न पाउँदा खुशी व्यक्त गरिन्।
उनले यो मेसिनले बैंकिङ् कारोबार बन्द भएको समयमा समेत सेवा दिने हुनाले ट्राफिक जरिबाना तिर्ने सेवाग्राही बढी लाभान्वित हुने समेत बताइन्।
हाल ट्राफिक महाशाखा सहित उपत्यकामा ३०९ स्थानमा प्रभु-पेको किअस्क मेसिनबाट ट्राफिक जरिबाना तिर्न सकिने र थप सहकार्य गरि अन्य ट्राफिक प्रहरी कार्यालयहरुमा समेत जडान गर्दै जाने उनले थपिन्।
यसरी तिर्न सकिन्छ मेसिनबाट जरिबाना
प्रभु-पेको किअस्क मेसिनमा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरेर स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक वर्ष टाइप गरेर नेक्सट बटन थिच्ने
त्यसपछि देखिने चिट नम्बर लगायतको सूचना चेक गरेर नेक्स्ट बटनमा थिचेर तिर्नुपर्ने रकम मेसिनमा हाल्ने
यसरी भुक्तानी सफल भएपछि प्रिन्ट भएको रसिदसहित ट्राफिक कार्यालयमा गएर आफ्नो कागजपत्र लिन सकिन्छ ।
कोरोना संक्रमणको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यक भिडभाडमा कमी आउने र कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न समेत यो मेसिनले महत्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एव एसपी संजीब शर्मा दासले बताए।
ट्राफिक कार्यालयमा सेवा लिन आउने सम्पूर्ण सेवाग्राहीलाई सहज एवं सरल रुपमा सेवा दिन सधैं तत्पर रहेको र अबका दिनमा समेत थप प्रविधिमा जोड दिने महाशाखाले जनाएको छ।
विभिन्न प्रविधिको प्रयोग गरी ट्राफिक जरिबाना भुक्तानी गर्न आम सेवाग्राहीलाई ट्राफिक प्रहरी महाशाखाले अनुरोध समेत गरेको छ।
प्रकाशित: २८ पुष २०७८, बुधबार