
काठमाडौं ।
हल्टप्राइज एट आईओईले शनिबार आफ्नो आन्ट्रप्रेनरशिप टक सिरिजको पहिलो संस्करण पूरा गरेको छ।
हाम्रो पात्रोका संस्थापक शंकर उप्रेती, आशा सोसल इनिशियटिभ इन नेपालकी सह संस्थापक सहारा बस्नेत तथा लगिन आईडीकी म्यानेजर फियोन फर्लङलगायत करिब ११० जना सहभागी रहेका उक्त टक सिरिजको शीर्षक इन्ट्रोडक्शन टू आन्ट्रप्रेनरशिप रहेको थियो।
कार्यक्रममा हाम्रो पात्रोका शंकर उप्रेतीले नेपाली सफ्टवेयर इन्जिनीयरले अमेरिकामा बसेर बनाएको नेपालमा सबैभन्दा बढी डाउनलोड भएको हाम्रो पात्रो एपका बारेमा आफ्ना अनुभव सुनाए। उनले मानिसको आवश्यकता अनुसारको उत्पादन निर्माण गर्नुपर्नेमा जोड दिए।
यसै गरी लगिन आईडीकी म्यानेजर फियोना फर्लङले व्यापारिक रणनीति, बिजनेस मोडल तथा आफ्ना कर्पोरेट तथा स्टार्टअपको अनुभवबारे सुनाइन्।
उनले स्टार्टअपका अप्ठ्यारा तथा चुनाैतीका बारेमा बोल्दै जस्तोसुकै परिस्थितिमा पनि हिम्मत नहार्न पनि सुझाइन्।
अन्तरक्रियाका क्रममा फर्लङले सहभागीहरुका तर्फबाट आएका प्रश्नहरुको जवाफ दिँदै व्यवसायीको भविष्यको अनिश्चिततालाई चिर्न महत्वपूर्ण सम्बन्ध तथा समान उद्देश्यप्राप्तिका लागि उस्तै विचारधारा भएका व्यक्तिहरुको समूह बनाउनुपर्नेमा जोड दिइन्।
कार्यक्रमकै क्रममा आशा सोसल इनिशियटिभकी सह संस्थापक सहारा बस्नेतले उक्त संस्था शुरु गर्नेदेखि हालसम्मका चुनाैतीका बावजूद आफूलाई के कुराले अगाडि बढ्न प्रेरणा दिइरहेको छ भन्नेबारेमा प्रकाश पारिन्।
प्रकाशित: २५ पुष २०७८, आईतवार