काठमाडौं ।
बाइनान्सबाट प्रयोगकर्ताले रकम झिक्ने क्रम सामान्य अवस्थामा फर्किएको र कम्पनीको आर्थिक अवस्था निकै बलियो रहेको सहप्रमुख कार्यकारी अधिकृतले बताएका छन्।
यसैबीच आफ्नो प्लेटफर्मबाट ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरीमा संलग्न भएको अमेरिकी आरोपलाई उत्तर कोरियाले ‘बेतुकको अभिव्यक्ति’ भन्दै अस्वीकार गरेको छ।
गत साता अहिलेसम्मकै ठूलो वित्तीय चोरीमध्ये एक मानिएको घटनापछि बाइनान्सका ग्राहकले सोमबारसम्म कुल ४ अर्ब ७२ करोड अमेरिकी डलर बराबरको रकम झिकेका थिए। विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले रकम निकासी रोक्ने र नयाँ प्रयोगकर्ता आकर्षित गर्ने अभियानसमेत सुरु गरेको छ।
मंगलबार हङकङ फिनटेक विक कार्यक्रममा बोल्दै बाइनान्सका सहप्रमुख कार्यकारी अधिकृत रिचर्ड टेङले पहिलो २४ घण्टामा अपेक्षा गरेअनुसार रकम निकासी बढेको तर त्यसपछि अवस्था सामान्य भएको बताए।
“कम्पनीको आर्थिक अवस्था निकै बलियो छ,” उनले भने। उनका अनुसार आक्रमणबाट प्रभावित ९५ प्रतिशत टोकन पुनः पूर्ति गरिएको छ। “हामी यो क्षति बेहोर्न सक्षम छौँ र त्यसो गर्न सक्छौँ।”
मंगलबार यसअघि बाइनान्सले सामाजिक सञ्जाल एक्समार्फत प्रतिघण्टा रकम जम्मा हुने क्रम निकासीभन्दा बढी रहेको जनाएको थियो। यसले प्रयोगकर्ताको गतिविधि बढ्दै गएको र रकमको प्रवाह स्थिर हुँदै गएको देखाएको कम्पनीको भनाइ छ।
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले गत सप्ताहान्त ६ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका क्रिप्टो सम्पत्ति चोरीमा उत्तर कोरिया जिम्मेवार रहेको जनाएको थियो। उक्त घटनाले क्रिप्टोकरेन्सी उद्योगमा ठूलो हलचल ल्याएको थियो।
उत्तर कोरियाली नेता किम जोङ उनको प्रभावशाली बहिनी किम यो जोङले मंगलबार सरकारी समाचार संस्था केसीएनएमा प्रकाशित प्रतिक्रियामार्फत अमेरिकी आरोपले वासिङ्टन उत्तर कोरियाप्रति अझै शत्रुतापूर्ण रहेको प्रमाणित गरेको बताएकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि यसै वर्ष शिखर वार्तामार्फत कूटनीतिक संवाद पुनः सुरु गर्न गरेको प्रस्तावमा प्योङयाङले कुनै प्रतिक्रिया दिएको छैन। अमेरिकी आरोपपछि किम यो जोङले अमेरिकाको शत्रुतापूर्ण व्यवहारका कारण उत्तर कोरियाले पुनर्विचार गर्नुपर्ने विषयहरू रहेको बताएकी छन्।
केसीएनएले किम यो जोङलाई उद्धृत गर्दै एफबीआईले उत्तर कोरियाको समर्थन प्राप्त ह्याकिङ समूह यस घटनामा संलग्न रहेको सूचना पाएको दाबी गर्दै उत्तर कोरियालाई ‘साइबर अपराधी राष्ट्र’ को रूपमा चित्रण गर्न खोजेको जनाएको छ।
“तर अमेरिकी दाबी बेतुकको अभिव्यक्ति हो र यसमा कुनै नयाँ कुरा छैन,” सत्तारूढ दलकी अधिकारी किमले भनेकी छन्। डीपीआरके उत्तर कोरियाको आधिकारिक नाम ‘डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरिया’ को संक्षिप्त रूप हो।
उनले विश्वका विभिन्न स्थानमा हुने सबै साइबर अपराध उत्तर कोरियाले गरेको जस्तो देखाएर अमेरिकाले अन्तर्राष्ट्रिय जनमतलाई भ्रमित पार्नु गम्भीर राजनीतिक उक्साहट भएको बताएकी छन्।
क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाको संलग्नताबारे पछिल्लो समय निगरानी बढ्दै गएको छ। विश्लेषकहरूका अनुसार यस्तो चोरी देशको हतियार कार्यक्रमका लागि रकम जुटाउने प्रमुख माध्यम बनेको छ।
रोयटर्सका अनुसार साइबर सुरक्षा विज्ञहरूका अनुसार उत्तर कोरियाली ह्याकरहरू विश्वकै सबैभन्दा सक्रिय क्रिप्टोकरेन्सी चोरमध्ये पर्छन्। चोरीबाट प्राप्त रकमले देशको आणविक हतियार र अमेरिकासम्म मार हान्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र विकास कार्यक्रमलाई आर्थिक सहयोग पुर्याउने गरेको छ।
ब्लकचेन विश्लेषण गर्ने कम्पनी एलिप्टिकको अनुमानअनुसार उत्तर कोरियाले यस वर्ष ७ अर्ब ६० करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको छ। यो कुनै पनि अघिल्लो वर्षको तुलनामा बढी हो। उत्तर कोरियाले भने क्रिप्टोकरेन्सी चोरी र अन्य साइबर अपराधमा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गर्दै आएको छ।
सियोलका विश्लेषकहरूका अनुसार उत्तर कोरियाले असामान्य रूपमा छिटो प्रतिक्रिया दिनुले आफ्नो हतियार कार्यक्रमका लागि प्रयोग भइरहेको भनिएको आम्दानीको स्रोत रोक्न थप प्रयास हुन सक्ने चिन्ता देखाउँछ।
क्युङनाम विश्वविद्यालयको इन्स्टिच्युट फर फार इस्टर्न स्टडिजका प्राध्यापक लिम उल चुलले प्रतिबन्धहरू जारी रहेकाले क्रिप्टोकरेन्सी चोरी उत्तर कोरियाका लागि शासन व्यवस्था कायम राख्न र हतियार विकास गर्न आवश्यक रकम जुटाउने प्रमुख माध्यममध्ये एक बनेको बताए।
उनका अनुसार क्रिप्टोकरेन्सी वालेट, अवैध रकम ओसारपसार गर्ने सञ्जाल र क्रिप्टोकरेन्सी एक्सचेन्जलाई लक्षित गरेर अमेरिकाले थप कदम चालेमा उत्तर कोरियाको आम्दानीको महत्त्वपूर्ण स्रोत बन्द हुन सक्छ।
दक्षिण कोरियाको केन्द्रीय बैंकले सन् २०२५ मा उत्तर कोरियाको कुल गार्हस्थ उत्पादन ४७.१८ ट्रिलियन वन अर्थात् ३५ अर्ब ९ करोड अमेरिकी डलर रहेको अनुमान गरेको थियो। यस आधारमा बाइनान्सबाट भएको चोरी उत्तर कोरियाको कुल आर्थिक उत्पादनको करिब छ भागको एक भाग बराबर हुन सक्छ।
ब्लकचेन विश्लेषण गर्ने अर्को कम्पनी चेनालाइसिसका अनुसार सन् २०२६ मा क्रिप्टोकरेन्सी ह्याकिङबाट भएको कुल क्षतिको ८९ प्रतिशत उत्तर कोरियासँग सम्बन्धित थियो। सन् २०२१ मा यस्तो हिस्सा १५ प्रतिशत मात्र थियो। कम्पनीका अनुसार एउटा ह्याकिङ घटनामा भएको औसत क्षति सन् २०२१ मा ५ करोड ६ लाख ५० हजार डलर रहेकोमा सन् २०२६ मा बढेर १८ करोड ५६ लाख ५० हजार डलर पुगेको छ।
चेनालाइसिसका एसिया–प्रशान्त क्षेत्रीय ग्लोबल सर्भिसेसका वरिष्ठ व्यवस्थापक एलेक जेब्रिकले उत्तर कोरियाले ठूला एक्सचेन्जलाई लक्षित गरिरहेको बताए।
“यसलाई ठूलो सिकारको खोजी भन्न सकिन्छ। उनीहरूले यस्ता ठूला एक्सचेन्जलाई निशाना बनाइरहेका छन्, जहाँ आक्रमण गर्न बढी समय र जटिल प्रक्रिया आवश्यक पर्न सक्छ। तर त्यसबाट प्राप्त हुने रकम पनि ठूलो हुन सक्छ,” उनले भने।
प्रकाशित: १८ कार्तिक २०८३, बुधबार