
काठमाडौं ।
ललितपुर महानगरपालिकाले पहिलो चरणमा महानगरपालिकाको कतिपय क्षेत्रमा राखेको स्मार्ट सडक बत्तीको प्रभावकारिता भएपछि स्मार्ट सडक बत्ती विभिन्न स्थानमा विस्तार गर्न लागेको छ ।
महानगरपालिकाले पहिलो चरणमा बागमती पुलबाट पुल्चोक, जावलाखेल हुँदै सातदोबाटो, कोपुन्डोलबाट पाटनढोका, अशोकहल, नागबहाल हुँदै मङ्गलबजार, पाटन दरबार क्षेत्रमा स्मार्ट सडक बत्ती राखेको थियो । त्यस्तै पुल्चोकबाट गाःबहाल, मङ्गलबजार, ग्वार्को र जावलाखेलबाट एकान्तकुनासम्म गरी ६६९ वटा स्मार्ट सडक बत्ती जडान भइसकेको छ।
स्मार्ट सडक बत्ती प्रभावकारी भएपछि महानगरपालिकाले दोस्रो चरणमा हरिसिद्धी, धापाखेल, सुनाकोठी, सैंँबु भैँसीपाटी बुङ्मतीलगायतका क्षेत्रमा सडक बत्ती जडान गर्न लागेको नगरप्रमुख चिरिबाबु महर्जनले जानकारी दिए। उनले भने, “सो क्षेत्रमा स्मार्ट सडक बत्ती राखिएपछि रात्रिकालीन रूपमा समेत सहज रूपमा आवतजावत गर्न सकिनेछ ।”
तेस्रो चरणमा ललितपुर महानगरपालिकाको क्षेत्र पर्ने चक्रपथमा स्मार्ट सडक बत्ती राख्ने तयारी छ । चक्रपथको मनोहरा नदीका बालकुमारीदेखि बल्खुसम्मको दायाँबायाँको सर्भिस ट्र्याकमा गरी १५.८ किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने योजना बनाइएको छ ।
उक्त कार्यका लागि करिब १८ करोड रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । त्यसका लागि त्रिपक्षीय सम्झौता भइसकेको छ । जसमा ६० प्रतिशत महानगरपालिका र ४० प्रतिशत विद्युत् प्राधिकरणले बेहोर्ने गरी त्रिपक्षीय सम्झौता भएको महर्जनले बताए। गोरखापत्र
प्रकाशित: २५ पुष २०७८, आईतवार