काठमाडौं ।
भारतीय स्मार्टफोन निर्माता कम्पनी लाभाले सन् २०२६ नोभेम्बर १५ देखि भारतमा आफ्ना स्मार्टफोनको मूल्य अधिकतम ३ हजार भारतीय रुपैयाँसम्म बढाउने घोषणा गरेको छ।
लाभाका अनुसार बजारमा मेमोरी चिपको अभाव निरन्तर रहेकाले स्मार्टफोनको मूल्य बढाउनुपरेको हो। कम्पनीले स्मार्टफोन खरिद गर्ने योजना बनाइरहेका ग्राहकलाई मूल्य वृद्धि हुनुअघि नै खरिद गर्न सुझाव दिएको छ।
कम्पनीले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, “हालको उद्योगको अवस्थालाई ध्यानमा राख्दै मेमोरी चिपको निरन्तर अभावका कारण सन् २०२६ नोभेम्बर १५ देखि हाम्रा सबै स्मार्टफोनको मूल्य अधिकतम ३ हजार भारतीय रुपैयाँसम्म समायोजन गर्नुपर्ने भएको छ।”
विज्ञप्तिमा थप भनिएको छ, “आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहने ग्राहकका लागि अहिले राम्रो अवसर छ। हाम्रा उत्पादनहरू हाल प्रमुख ई–कमर्स प्लेटफर्म र अफलाइन बिक्री सञ्जालमा चाडपर्व लक्षित छुट मूल्यमा उपलब्ध छन्। मूल्य वृद्धि लागू हुनुअघि ग्राहकलाई यी सुविधाको लाभ लिन हामी आग्रह गर्छौँ।”
जीएसएमएरिनाका अनुसार लाभाले स्मार्टफोनको मूल्य अधिकतम ३ हजार भारतीय रुपैयाँसम्म बढाउने बताए पनि भारतमा बिक्री हुने प्रत्येक स्मार्टफोनको मूल्य कति बढ्ने भन्नेबारे भने खुलाएको छैन।
प्रकाशित: १८ कार्तिक २०८३, बुधबार