
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो रेडमी के५० सिरिज आगामी फेब्रुअरीमा सार्वजनिक गर्ने निश्चित गरेको छ।
कम्पनीले हालै आफ्नो वेबो एकाउन्टमा एउटा टिजर भिडियो पोस्ट गरेर उक्त सिरिज आउँदो महिना सार्वजनिक गर्ने पक्का गरेको हो। फेब्रुअरीमा हुने पक्का भए पनि यो डिभाइस सार्वजनिक हुने मिति भने तोकिएको छैन।
यो सिरिजमा रेडमी के५० तथा के५० प्रो रहने र प्रो भेरियन्टमा १२० वाट फास्ट चार्जिङका साथै स्न्यापड्रागन ८जेन १ चिपसेट रहने बताइएको छ।
यो डिभाइसमा ४७०० एमएएच क्षमताको ब्याट्री रहने र यसले १७ मिनेटमा शून्यबाट १०० प्रतिशत ब्याट्री चार्ज गर्ने उक्त पोस्टमा दावी गरिएको छ।
प्रो भेरियन्टमा दिइने भनेको १२० वाट स्ट्यान्डर्ड रेडमी नोट ११ प्रो+ लगायतका शाओमीका केही स्मार्टफोनमा प्रयोग भएको नै हो।
यसमा तापक्रम नियन्त्रणका लागि डुअल भेपर च्याम्बर रहेको र यसले लिक्विड कूल्ड प्रविधिबाट दुई गुणा छिटो डिभाइसको तात्नबाट जोगाउने कम्पनीको दावी छ।
प्रकाशित: २२ पुष २०७८, बिहीबार