
काठमाडौं ।
जर्मनीको कार्टेल अफिसले गुगलले आफ्नो गुगल न्यूज शोकेस नामक उत्पादन तथा व्यक्तिगत डाटा प्रयोगका बारेमा जाँच पड्ताल शुरु गरेको बताएको छ।
कार्टेल अफिसले इन्टरनेट कम्पनीहरुमाथि निगरानी गर्ने अख्तियारी पाएसँगै यो जाँच शुरु गरेको र गुगलबाहेक अब अमेजन, एप्पल तथा फेसबुकमाथि पनि छानबिनको योजना रहेको बताएको छ।
इन्टरनेट नियामकको जिम्मेवारी पाएको कार्टेल अफिसले बुधबार गुगलले देशको कानूनमा रहेको ठूला इन्टरनेट कम्पनी चलाउने मापदण्ड पूरा गर्नुपर्ने बताएको छ।
‘संघीय कार्टेल अफिसले प्रतिस्पर्धालाई हानी पुर्याउने व्यवहारहरुमाथि छानबिन गर्न सक्नेछ’, अफिसका अध्यक्ष आन्ड्रियास मुन्टले भने।
अफिसले गुगलले व्यक्तिगत डाटालाई कसरी प्रशोधन गर्छ भन्नेबारेमा र गुगल न्यूज शोकेसका बारेमा यसअघि नै गहन रुपमा निगरानी शुरु गरिसकेको उनको भनाइ छ।
मुन्टले कार्टेल अफिसले अमेजन, एप्पल तथा फेसबुक संलग्न अन्य मुद्दाहरुमा पनि छानबिन थाल्ने योजना रहेको सुनाए।
प्रकाशित: २२ पुष २०७८, बिहीबार