स्टार्टअपलाई आर्थिक सहायता उपलब्ध गराउन बागमती प्रदेशले माग्यो अवधारणा पत्र

  • Technology Khabar | २० पुष २०७८, मंगलवार
स्टार्टअपलाई आर्थिक सहायता उपलब्ध गराउन बागमती प्रदेशले माग्यो अवधारणा पत्र

काठमाडौं ।

बागमती प्रदेश सरकारले स्टार्टअपलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ। यसका लागि बागमती प्रदेशले युवा वैज्ञानिक प्रोत्साहन कोष स्थापना गरी सोही कोषमार्फत सहयोग गराउने भएको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तन सम्बन्धि अवधारणापत्र तयार गर्न र युवा वैज्ञानिक प्रोत्साहन कोषमा प्रस्ताव पेश गर्न आव्हान गरेको छ।

प्रतिभाशाली युवा वैज्ञानिक वा नवप्रवर्तकहरूलाई प्रदेशको समृद्धिका लागि आवश्यक अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासको आवधारणा पत्र पेश गर्न सक्ने मन्त्रालयले सूचनामा भनेको छ।

प्रदेश भित्र कृषि, उद्योग, पर्यटन, जलवायु तथा वातावरण, जैविक विविधता, जनस्वास्थ्य, जीव प्रविधि, सूचना प्रविधि, इन्जिनियरिङ, यातायात, नवीकरणीय उर्जा र विद्युत संग्रह विषयमा अवधारणपत्र पेस गर्न सकिने छ । जसमध्ये प्राथमिकता प्राप्त क्षेत्र र विषयहरुमा जनस्वास्थ्य र कृषिलाई तोकिएको छ।

अवधारणापत्र पेश गर्नका लागि मन्त्रालयले तयार पारेको युथ साइन्टिष्ट पोर्टल २४ सै घण्टा खुल्ला रहेको जानकारी दिएको छ। साथै अवधारणा पत्र आधिकारीक इमेल [email protected] मार्फत समेत पठाउन सकिने छ।

अवधारणापत्रको ढाँचा, पेस गर्नुपर्ने कागजात एवं शर्तहरू सम्बन्धि थप जानकारी युथ साइन्टिष्ट पोर्टलमा दिइएको छ। छनोट भएका प्रस्तावहरूलाई अनुसन्धान, नवप्रवर्तन र प्रविधि विकासका लागि कोषले आर्थिक सहायता प्रदान गर्नेछ।

मन्त्रालयका अनुसार स्टार्टअपका लागि प्रस्ताव पेश गर्ने आवेदक ४० वर्ष ननाघेको हुनुपर्नेछ भने अनुसन्धान तथा नवप्रवर्तन कार्यमा संयुक्त, समूह र साझेदारीमा कार्य गर्नेआवेदकहरुलाई प्राथमिकता दिइने बताईएको छ।

प्रदेश सरकारले उदीयमान प्रविधिको विकास र नवप्रवर्तनमा युवा वैज्ञानिकहरुलाई संलग्न गराई अनुसन्धान, प्रविधि विकास र नवप्रवर्तनमा क्षमता विकास गर्दै प्रदेशको उच्च आर्थिक वृद्धि र नागिरकको जीवन पद्धतिलाई सरल र सहज बनाउन योगदान पुर्‍याउने उदेश्यले युवा वैज्ञानिक प्रोत्साहन कोषको स्थापना गरेको जानकारी दिएको छ।

यसै अनुरुप कोषले विभिन्न क्षेत्रमा छरिएर रहेका प्रतिभाशाली युवा वैज्ञानिक वा नवप्रवर्तकहरुलाई प्रदेशको समृद्धिका लागि आवश्यक अनुसन्धान , नवप्रवर्तन र  प्रविधिविकासका साथै प्रोटोटाइप समेत विकास गर्न ईच्छुक युवा वैज्ञानिकहरुले आयोजना अवधारणा पत्र बुझाउन सक्ने बागमती प्रदेशको सो मन्त्रालयले जनाएको छ।

प्रकाशित: २० पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार