बादल लाग्दा मोबाइल सेवा बन्द

  • Technology Khabar | २० पुष २०७८, मंगलवार
बादल लाग्दा मोबाइल सेवा बन्द
नेपाल टेलिकमको टावरको सांकेतिक तस्बिर।

काठमाडौं ।

घाम लागेको दिन फोरजी सेवा चले पनि बादल लागेको दिन बैतडीका अधिकांश स्थानीय तहमा टेलिफोन सेवा बन्द हुँदा सेवा प्रदायकहरूप्रति गुनासो बढ्दै गएको छ ।

बत्ती नहुँदा सौर्य ऊर्जाबाट सञ्चालनमा रहेका नेपाल टेलिकमका टावरले काम नगर्दा बैतडीको पुरचौडी नगरपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलासैनी गाउँपालिकाको टेलिफोन सेवा अवरुद्ध हुने गरेको छ।

“घाम लागेको दिन त फोरजी पनि चल्छ” पुरचौडी नगरपालिकाका स्थानीय लोकेश साउदले भने, “बादल लागेको दिन भने नेटवर्क नै आउँदैन् ।मोबाइल थन्क्याउनुपर्छ।”

बैतडीमा सञ्चालित नेपाल टेलिकमका ३० वटा टावरमध्ये १३ वटा टावर सोलारबाट चल्ने गरेको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमाटाले बताए। टमाटाले भने, “अधिकांश स्थानीय तहमा बिजुली पुगेका छैन् । टेलिकमले सौर्य ऊर्जा जडान गरेर सेवा दिनुपरेको छ । बादल लागेको दिन सेवा अवरुद्ध हुने गरेकोछ।”

नेपाल टेलिकमले स्थानीय तहमा सञ्चार सुविधा दिन पुरचौडी नगरपालिकाको कुवाकोट, विजयपुर, मठैराज, शिवनाथ गाउँपालिकाको शर्माली, पञ्चेश्वर गाउँपालिकाको रोडिदेवल, गिरेगाडा र पञ्चेश्वरमा टावर निर्माण गरेको छ ।

त्यसैगरी, मेलौली नगरपालिकाको दुर्गास्थान, डिलासैनी गाउँपालिकाको कोटपेटरा र सिगास गाउँपालिकाको सिगास, गाँजरी र शिखरपुरमा टावर निर्माण गरेको छ।

बिजुली नहुँदा यी सबै १३ वटा टावर सौर्य ऊर्जाबाट सञ्चालनमा रहेका छन् । बैतडीका ७० प्रतिशत गाउँमा विद्युत् सेवा नहुँदा बादल लागेको दिन मोबाइल चार्ज गर्न पनि समस्या हुने गरेको स्थानीयको गुनासो छ।

बादल लागेको दिन फोन सेवा बन्द हुने गरेको दुर्गास्थानका स्थानीय प्रदीप भट्टले बताए। सदरमुकाम नजिकैको दशरथचन्द नगरपालिका–७ ऐचेकाँडामा रहेको नेपाल टेलिकमको टावरले बादल लागेको दिन काम नगर्ने उनले बताए।

टेलिफोन सेवाअवरुद्ध भएको गुनासो आए पनि नेपाल टेलिकम बैतडीसित स्रोत नहुँदा थप ब्याट्री र सोलारपाता थप्न नसकेको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमाटाले बताए।

क्षेत्रीय निर्देशनालयबाटै सौर्य पाता र थप ब्याट्रीको व्यवस्था गरेको खण्डमा मात्रै सेवा सञ्चालन हुने कार्यालय प्रमुख टमाटाले बताए। -गोरखापत्रबाट

प्रकाशित: २० पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार