
काठमाडौं ।
सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा प्रवाह गर्न दोलखाको भीमेश्वर नगरपालिकाले घर नक्सा, अनलाइन भवन निर्माण अनुमति प्रक्रिया सुरु गरेको छ।
नगरप्रमुख भरतबहादुर केसीले नगरपालिकाले घर नक्सा डेमो नामक एप्लिकेसनमार्फत अनलाइन भवन निर्माण अनुमति प्रक्रिया सुरु गरेको जानकारी दिए। उनका अनुसार वैज्ञानिक, व्यवस्थित, छिटो, पारदर्शिताका लागि यो सुरु गरिएको हो।
नगरलाई स्मार्ट सिटी बनाउने लक्ष्यको सुरुवाती पनि हो । घर नक्साको कामलाई झन्झटमुक्त बनाएर सहज सेवा दिन यसले सहयोग गर्ने अपेक्षा राखिएको छ।
भवन निर्माण प्रक्रिया तथा भवन निर्माण सुपरिवेक्षण जाँच गर्ने कार्यलाई अझ ब्यवस्थित, बैज्ञानिक र चुस्त बनाउनका लागि “घरनक्सा” अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पुस १८ गतेदेखि शुरु गरिएको नगरपालिकाले उल्लेख गरेको छ।
पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर सुरेश राउतले नगरमा प्रत्येक वर्ष करिब दुई सय घर निर्माण हुने गरेको जानकारी दिँदै भवन निर्माण अनुमति प्रक्रिया तथा भवन निर्माण सुपरीवेक्षण जाँच गर्ने कार्यलाई अझ व्यवस्थित, वैज्ञानिक, पारदर्शी र चुस्त बनाउन यो प्रक्रिया सञ्चालनमा ल्याइएको बताए।
यसबाट जहाँ र जति बेला पनि अनलाइनमार्फत घर नक्साका लागि दर्ता, अनुमतिका लागि आवेदन, आवश्यक कागजातको सहज भण्डारण र सहज रूपमा फिल्ड अनुगमनमा सहयोग मिल्ने जानकारी उनले दिए। उनका अनुसार भवन संहिता तथा भवन मापदण्डमा भएका प्रावधानको पालना, जाँचमा सहजता, घरधनी, डिजाइनर, ठेकेदार तथा डकर्मीहरूको स्पष्ट जानकारीका लागि यो उपयोगी हुनेछ।
याे “घरनक्सा” पाेर्टलकाे निर्माण भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल (NSET)काे प्राविधिक सहयाेगमा भएकाे नगरपालिकाले जनाएकोछ।
प्रकाशित: २० पुष २०७८, मंगलवार