
काठमाडौं ।
भारतीय टाटा ग्रुपद्धारा निर्मित इलेक्ट्रिक साइकल नेपाली बजारमा आएको छ। टाटाको ‘स्टाइडर ब्रान्ड’को इलेक्ट्रिक साइकल नेपाल आएको हो।
साइन इन्टरप्राइजेज बुटवलमा आधारित कम्पनी हो जसले नेपाली बजारमा टाटाको इलेक्ट्रिक साइकल ल्याएको हो। कम्पनीले माघ १ गतेदेखि दुई नयाँ मोडलको इलेक्ट्रिक साइकल बिक्री सुरु गर्ने बताईएको छ।
कम्पनीले नेपाली बजारमा उपलब्ध गराएको कोन्टिनो इटीवी १०० मा २५० वाटको मोटर रहेको छ। यसमा ४८ भोल्टको रिमुभेवल लिथियम आयोन ब्याट्री प्याक दिइएको छ।
एक पटकको फुलचार्जमा यो साइकल ब्याट्री पावरबाट ३० किलोमिटरसम्म चलाउन सकिन्छ। यसमा राखिएको ब्याट्री एक पटक फुल चार्ज गर्न ३ घन्टा समय लाग्ने कम्पनीको दाबी छ।
सामान्य प्याडल गर्ने हो भने ६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ। यसको टप स्पीड २५ किलोमिटर प्रति घन्टा छ।
यो साइकलमा ७ स्पीडको गियर रहेको छ भने, यसको दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ। यसको सुरुवाती मूल्य ७५ हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ।
अर्को इलेक्ट्रीक साइकल भोल्ट्रीकमा समेत कोन्टिनो कै समान पावर रहेको छ । तर भोल्ट्रीक १.७ मा भने रिमुभेवल ब्याट्रीको अप्सन दिइएको छैन। साथै, यसमा गियर समेत छैन। अन्य सबैजसो फिचर समान रहेको छ। यसको सुरुवाती मूल्य ६० हजार रुपैयाँ हुने कम्पनीको भनाई छ।
कम्पनीले हालै यो साइकलको लागि नेपालभर डिलर समेत माग गरेको छ।
प्रकाशित: १७ पुष २०७८, शनिबार