भारतको उत्तर प्रदेशमा युवाहरुलाई नि:शुल्क ट्याब्लेट र स्मार्टफोन वितरण

  • Technology Khabar | ११ पुष २०७८, आईतवार
भारतको उत्तर प्रदेशमा युवाहरुलाई नि:शुल्क ट्याब्लेट र स्मार्टफोन वितरण

काठमाडौं ।

छिमेकी देश भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले शनिबारदेखि राज्यका एक करोड युवाहरूका लागि “नि:शुल्क ट्याब्लेट र स्मार्टफोन वितरण योजना” सुरु गरेका छन्।

भारतीय समाचार एजेन्सी एएनआईलाई उद्धृत गर्दै टेक हिन्दुस्तानको रिपोर्टअनुसार, मुख्यमन्त्री आदित्यनाथले भारत रत्न प्राप्तकर्ताहरू पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी र पण्डित मदन मोहन मालवीयको जन्मजयन्तीमा राज्यका एक करोड युवाहरूको लागि नि:शुल्क स्मार्टफोन र ट्याब्लेट वितरण योजना सुरु गरे।

रिपोर्टअनुसार, लखनउमा भएको र्‍यालीमा उपस्थित ६० हजार युवालाई नि:शुल्क स्मार्टफोन र ट्याब्लेट वितरण गरिएको थियो जहाँ योजनाको घोषणा समेत गरिएको थियो। “स्मार्टफोन र ट्याब्लेट मात्र होइन, डिजिटल पहुँचको सुविधा पनि नि:शुल्क उपलब्ध गराउन गइरहेका छौं, सामग्री पनि नि:शुल्क उपलब्ध हुनेछ।” योजनाको शुभारम्भ गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले भने।

एक साताभित्र हरेक जिल्लामा स्मार्टफोन र ट्याब्लेट वितरण गरिने मुख्यमन्त्री आदित्यनाथले जानकारी दिएका थिए । रिपोर्टका अनुसार, स्मार्टफोन र ट्याब्लेट लिनका लागि अहिलेसम्म ३८ लाख भन्दा बढी विद्यार्थीहरूले डिजी शक्ति पोर्टलमा आफूलाई दर्ता गरेका छन्। दर्ता चलिरहेको छ र पहिले दर्ता प्रक्रिया पूरा नगरेकाहरूले अझै पनि गर्न सक्ने बताईएकोछ।

समाचारअनुसार एमए, बीए, बीएससी, आईटीआई, एमबीबीएस, एमडी, बीटेक, एमटेक, पीएचडी, एमएसएमई र सीप विकास आदिको अन्तिम वर्षमा रहेका विद्यार्थीहरूलाई पहिलो चरणमा प्राथमिकता दिइनेछ।

यसको लागि पहिलो चरणमा मोबाइल र ट्याब्लेटका लागि करिब २,०३५ करोड भारुको अर्डर गरिएको छ। लगभग १०.५ लाख स्मार्टफोनहरू प्रत्येक १०,७४० भारुको दरमा अर्डर गरिएको छ भने ७.२० लाख ट्याब्लेटहरू १२,६०६ भारतीय रुपैयाँको दरमा अर्डर गरिएको बताइएको छ।

प्रकाशित: ११ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार