क्यालिफोर्नियाका लाखौँ विद्यार्थीको विवरण ह्याकरले चोरेको राज्यको शिक्षा विभागको भनाइ

  • Technology Khabar | २ कार्तिक २०८३, सोमबार
क्यालिफोर्नियाका लाखौँ विद्यार्थीको विवरण ह्याकरले चोरेको राज्यको शिक्षा विभागको भनाइ
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

क्यालिफोर्नियाको शिक्षा विभागले शुक्रबार एक ह्याकरले राज्यसँग काम गर्ने गैरनाफामूलक संस्थाको प्रणालीमा कमजोरीको फाइदा उठाउँदै लाखौँ विद्यार्थीको विवरणमा पहुँच बनाएको जनाएको छ।

ह्याकरले विद्यार्थीको नाम, जन्ममिति, ठेगाना र अपाङ्गतासम्बन्धी अवस्थालगायत विवरणमा पहुँच बनाएको विभागले बताएको छ।

विभागका अनुसार ह्याकरले अघिल्ला तीन शैक्षिक वर्षमा भर्ना भएका सबै विद्यार्थीको विवरणमा पहुँच बनाएको थियो। विभागका अनुसार सन् २०२५–२०२६ शैक्षिक वर्षमा क्यालिफोर्नियामा ५७ लाखभन्दा बढी विद्यार्थी भर्ना भएका थिए।

रोयटर्सका अनुसार गैरनाफामूलक संस्था एजुकेसनल टेस्टिङ सर्भिसले शुक्रबारदेखि विद्यार्थी र उनीहरूका परिवारलाई विवरण चुहिएको घटनाबारे जानकारी दिन थालेको शिक्षा विभागले जनाएको छ। गत महिनाको अन्त्यतिर पहिचान गरिएको यो घटना मे महिनादेखि नै भइरहेको पाइएको थियो।

क्यालिफोर्नियाको शिक्षा विभागका अनुसार उक्त संस्थाले सेप्टेम्बर २५ मा सुरक्षित फाइल स्थानान्तरण प्रणालीसँग सम्बन्धित अनधिकृत पहुँच पहिचान गरी अनुसन्धान सुरु गरेको थियो।

विभागले भनेको छ, “अनुसन्धानबाट अनधिकृत व्यक्तिले चोरी भएको लगइन विवरण प्रयोग गरी सन् २०२६ को मे २२ देखि सेप्टेम्बर १८ सम्म विभिन्न समयमा उक्त प्रणालीमा पहुँच बनाएर क्यालिफोर्नियाका विद्यार्थीको विवरण भएका फाइलहरू प्रतिलिपि गरेको पाइएको छ।”

अहिलेसम्म चोरी भएको कुनै पनि विवरण सार्वजनिक भएको प्रमाण नभेटिएको एजुकेसनल टेस्टिङ सर्भिसले जनाएको शिक्षा विभागले बताएको छ। विभागका अनुसार ह्याकरले सामाजिक सुरक्षा नम्बर र संवेदनशील वित्तीय विवरणमा भने पहुँच बनाएको थिएन।

क्यालिफोर्नियाको शिक्षा विभागले अक्टोबर २ मा काउन्टी र जिल्लाका विद्यालय अधिकारीहरूलाई पठाएको पत्रमा उक्त परीक्षण संस्थाले नियमित भर्ना विवरण प्रशोधन गर्ने काम रोकेको जनाएको थियो।

विभागले भनेको छ, “प्रभावित मूल्याङ्कनसम्बन्धी गतिविधि समयमै पुनः सुरु गर्न र काममा पर्ने अवरोध कम गर्न शिक्षा विभाग सक्रिय रूपमा काम गरिरहेको छ।”

क्यालिफोर्नियामा एजुकेसनल टेस्टिङ सर्भिसले अंग्रेजी भाषाको दक्षता मापन गर्ने परीक्षणसहित राज्यव्यापी मूल्याङ्कन कार्यक्रम सञ्चालन गर्छ।

एजुकेसनल टेस्टिङ सर्भिसले वक्तव्यमा भनेको छ, “हामीले थप निगरानी, पहुँच नियन्त्रणलाई बलियो बनाउने र हाम्रो सुरक्षा अभ्यासको तेस्रो पक्षबाट थप समीक्षा गर्नेलगायत अतिरिक्त सुरक्षा उपाय लागू गरेका छौँ। हामीले सेवा प्रदान गर्ने विद्यार्थी, परिवार र शिक्षकको हित तथा विश्वभरका ग्राहक र साझेदारका लागि सञ्चालन गर्ने मूल्याङ्कन कार्यक्रमको सुरक्षा गर्नु हाम्रो प्राथमिकता हो।”

प्रकाशित: २ कार्तिक २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार