
काठमाडौं ।
कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघले क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ।
यो वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल दुवै स्वरुपमा आयोजना हुने गरी तयारी बढाइएको जानकारी दिएको छ।
प्रदर्शनीमा क्यान महासङ्घका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धी कम्पनीको सहभागिता रहने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो।
प्रदर्शनीलाई व्यवसायीले व्यापार विस्तारका साथै नयाँ नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला उपकरण अवलोकन तथा खरिद गर्न पाउने महासङ्घका महासचिव नारायण थापाले बताए।
आयोजककाअनुसार क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, इ–वेष्ट म्यानेजमेन्ट, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टरलगायत विभिन्न कक्ष रहनेछन्।
इन्फोटेकमा प्रदर्शनीकर्ताले सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, सिसिटिभी र हार्डडिस्क, आइओटी राख्ने भएका छन् ।

त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहने बताईएको छ।
क्यान इन्फोटेकको २६औँ संस्करण करिब साढे तीन लाखले अवलोकन गरेकामा यो संस्करणमा समेत सोही सङ्ख्यामा अवलोकनकर्ता आउने आयोजकले अपेक्षा गरेको छ। क्यान इन्फोटेक २०२२ का लागि सोमबारदेखि स्टल बुकिङ खुला हुने जनाइएको छ।
यसअघि इन्फोटेकको २७ औं संस्करण गत बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म हुने गरी सबै तयारी गरिएकोमा कोभिडको दोश्रो लहरका स्थगित भएको थियो।
प्रकाशित: ११ पुष २०७८, आईतवार