
काठमाडौं ।
यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरले ई–टोकन प्रणालीबाट सवारी चालक अनुमति पत्र नवीकरण सुरु गरेको छ। कार्यालय प्रमुख विनोद पौडेलले बुधबार पत्रकार सम्मेलनमा ई–टोकन प्रणाली सुरु भएको जानकारी दिएका हुन्।
मङ्सिर १८ गते पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट औपचारिक उद्घाटन गरेका थिए।
गत भदौ ३ गते सवारी चालक अनुमतिपत्रको समेत काम गर्ने गरी कार्यादेश दिएको भए पनि प्राविधिक कारणले कार्यालयबाट सेवा सुरु हुन सकेको थिएन।
प्रमुख पौडेलले सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवा सुरु गरिएको भए पनि प्राविधिक समस्याका कारणले कागजी अनुमतिपत्रको नवीकरण गर्ने काम सुरु भई नसकेको जानकारी दिए। केही दिनभित्र पुरानो सवारी चालक अनुमतिपत्र समेतको नवीकरण प्रक्रिया सुरु गर्ने भन्दै आगामी तीन महिनाभित्र नयाँ सवारी चालक अनुमतिपत्र जारी गर्ने तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार कार्यालयमा पर्याप्त स्थान अभावका कारण सवारी जाँच पासको काम र सवारी चालकका लागि लिइने लिखित परीक्षा र प्रयोगात्मक परीक्षा (ट्रायल पास)को काम तत्काल गर्नसक्ने अवस्था छैन्। कार्यालयले सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत अनलाइन टोकन प्रणाली लागू गरेको छ।
कार्यालय प्रमुख पौडेलका अनुसार चालकको व्यक्तिगत विवरण, वर्ग, जारी तथा अन्तिम मिति र लिखित तथा प्रयोगात्मक परीक्षाको विवरण ठीक भएमा नवीकरण गर्न सकिनेछ। त्यस्तै नवीकरणका लागि बागमती प्रदेश स्थायी ठेगाना वा सुरुको सवारी चालक अनुमतिपत्र बागमती प्रदेशबाट जारी भएको हुनुपर्नेछ।
तर, सरकारी कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस भएमा नवीकरण गर्न सकिने व्यवस्था छ। उनका अनुसार अनुमतिपत्रको अन्तिम नवीकरण बहाल अवधि समाप्त भएको ९० दिनभित्र नवीकरण गरिसक्नुपर्ने हुन्छ ।
नब्बे दिन पार भएको अवस्थामा पाँच वर्षसम्म मात्र तोकिएको जरिवाना तिरेर नवीकरण गर्न सकिने व्यवस्था छ। गोरखापत्रबाट
प्रकाशित: १ पुष २०७८, बिहीबार