
काठमाडौं ।
मिदास टेक्नोलोजीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा शुरू गरेको छ।
अब प्रदेश १ र २ का बिरामीहरूले बिहानैदेखि घण्टौँ लाइनमा बस्दा भोग्नुपर्ने सास्तीबाट छुटकारा पाउने मिदासले दाबी गरेको छ। यो सेवा पूर्वाञ्चल स्वास्थ्य क्षेत्र अन्तर्गतमा पहिलो पटक मिदास टेक्नोलोजी सफ्टवेरमार्फत शुरू गरिएको सो कम्पनीले जानकारी दिएको छ।
बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमै पुगी लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुने बताइएको छ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ।
यो सेवा हाल टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराएको सफ्टवेर प्रयोगकर्ता माझ अन्य सरकारी तथा निजी अस्पतालहरूले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी मिदासले व्यवस्था मिलाएको छ।
हाल, मिदास टेक्नोलोजीले मेरो डाक्टर मोबाइल एप तथा वेभ मेरोडाक्टरडटकममार्फत अनलाइन टेलिमेडिसन सेवा प्रदान गर्दै आइरहेको छ ।
यो सेवा लिन इच्छुक बिरामीहरूका लागि २०० भन्दा बढी विशेषज्ञ डाक्टरहरूमार्फत ५० प्रतिशत छुटका साथै अनलाइन टेलिकन्सल्टेन्सी सेवा उपलब्ध गराउँदै आएको जनाएकोछ।
प्रकाशित: १ पुष २०७८, बिहीबार