
काठमाडौं ।
जाजरकोटका सातवटै स्थानीय तहमा अफलाइन ई–पुस्तकालय जडान गरिएको छ। विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र साझा शिक्षा ई–पाटी नेपालको प्राविधिक सहयोगमा यहाँका सातवटै स्थानीय तहमा अफलाइन ई–पुस्तकालय जडान गरिएको हो ।
भेरी नगर पालिका, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अमृत पुनले पुस्तकालयमा आठ हजार ५७८ वटा पुस्तक डाउनलोड गरी निःशुल्क अध्ययन गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए । त्यस्तै ४५३ वटा भिडियो र २०२ वटा अडियो पनि उपलब्ध गराइएको उनले बताए ।
बारेकोट गाउँपालिकाका उपप्रमुख ओमा शाहीले अफलाइन पुस्तकालय ज्यादै उपयोगी हुने भएकाले यसबाट लाभ लिन सबैलाई आग्रह गरिन् ।
विश्व खाद्य कार्यक्रम जाजरकोटका प्रतिनिधि कृष्ण थापाले शिक्षामा प्रविधिको प्रयोग गर्ने सरकारको लक्ष्यअनुसार पुस्तकालय स्थापना गरिएको बताउँदै इन्टरनेट नभएको समयमा समेत यो पुस्तकालय उपयोगी हुने जानकारी दिए । शिक्षकलाई शिक्षण सिकाइ प्रक्रियामा स्रोत सामग्रीका रूपमा प्रयोग गर्नसमे त पुस्तकालय उपयोगी हुने थापाको भनाइ छ ।
नलगाड नगर पालिकाका नगर प्रमुख टेकबहादुर रावलले अफलाइन पुस्तकालयको माध्यमबाट कोभिड–१९ महामारीको अवस्थामा विद्यार्थीलाई पठनपाठन गराउन मिल्ने भएकाले यो अत्यन्तै उपयोगी हुने विश्वास व्यक्त गरे ।
त्रिभुवन माध्यमिक विद्यालय खलङ्गाका शिक्षक राजेन्द्र कार्कीले अफलाइन पुस्तकालय विद्यार्थीका लागि निकै उपयोगी हुने भएकाले यसकोसदुपयोग गर्न सबै विद्यार्थी तथा सरोकार वालालाई आग्रह गरे ।
यो सेवा विस्तार पछि दुर्गम क्षेत्रका शिक्षक तथा विद्यार्थीलाई पठनपाठनमा सहजता आउने विश्वास गरिएको छ। गोरखापत्रबाट
प्रकाशित: २३ मंसिर २०७८, बिहीबार