
काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअन्तर्गत अब विदेशबाट ईसेवा मनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुबाट भुक्तानी हुनेछ।योसँगै अब विदेशमा रहेका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सक्ने भएका छन् ।
साथै ईसेवा मनी ट्रान्सफरको सेवा उपभोग गर्न यस बैंकका खाता ग्राहीहरुले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आरबिबि स्मार्ट डाउनलोड गर्नुपर्ने हुन्छ। यसपछि मुलुकभरी तथा संसारका २०० बढी मुलुकमा व्यापक रुपमा कारोवार विस्तार गरिरहेको रेमिट कम्पनी, ईसेवा मनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंक मध्येको एक राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामाप्राप्त गर्न सक्नेछन् ।
आरबिबि स्मार्ट अर्थात बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर ईसेवा मनी ट्रान्सफर मार्फत नेपालभरी रहेका ईसेवाका नेटवर्क माझ जहाँपनि रेमिट्यान्स पठाउन वा पाउन सकिनेछ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट ईसेवा मनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स नेपालभरी रहेका १० हजार भन्दा बढी ईसेवामनी ट्रान्सफरका क्यास पिक–अप काउन्टरहरुबाट पनि भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित: २३ मंसिर २०७८, बिहीबार