
काठमाडौं ।
चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी टीसीएलले फोल्ड एन रोल नाम गरेको स्मार्टफोन हालै प्रदर्शन गरेको छ।
गत अप्रिलमा कम्पनीले घोषणा गरेको फोल्ड र स्लाइड दुवै हुने फिचरयुक्त उक्त डिभाइसको डिस्प्ले कभरबाट शुरु भएर साइडतिर मोडिँदै खुल्छ र बिस्तारै दायाँ हाततिर जान्छ।
यति भएपछि यो डिभाइस बायाँपट्टि फैलँदै १० इन्चको ट्याब्लेटमा परिणत हुने जीएसएमएरिनाले जनाएको छ।
त्यतिबेला यो डिभाइसले मूर्तरुप लिन्छ वा लिँदैन भन्नेमा यकिन भइनसकेका बेला डीटीसी २०२१ बाट शेन्जेनमा एउटा छोटो भिडियो बाहिरिएपछि भने यो परियोजनाले मूर्तरुप लिने बुझिएको छ।
बाहिरिएको ३० सेकेन्डको भिडियो क्लिपले प्रविधि उपलब्ध भएको तर इन्टरफेस तयार नभएको देखाउँछ। प्रविधि आकर्षक देखिए पनि होम स्क्रीनले परिवर्तनलाई आत्मसात् गर्न सकेको देखिँदैन।
चिनियाँ सञ्चारमाध्यमका प्रतिनिधिले यो टीसीएल तथा यसको सहायक कम्पनी सीएसओटीको भविष्यमा आउने स्मार्टफोनको सार्वजनिकीकरण भन्दा पनि कम्पनीको नयाँ प्रविधिको प्रदर्शन भएको बताएका छन्।
प्रकाशित: २२ मंसिर २०७८, बुधबार