
काठमाडौं ।
भारतीय दूरसञ्चार नियामक प्राधिकरण (ट्राइ) ले देशका सबै मोबाइल ग्राहकहरूका लागि अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा (यूएसएसडी) (Unstructured Supplementary Service Data (USSD) मेसेजहरू निःशुल्क बनाउने प्रस्ताव जारी गरेको छ।
प्रायः इन्टरनेटमा पहुँच नभएका फीचर फोनहरूमा यूएसएसडी मेसेजहरू धेरै अपरेटरहरू र बैंकिङ सेवाहरूद्वारा प्रयोग गरिन्छ। प्रस्तावमा यूएसएसडी मेसेजहरूको लागत अधिकतम भारु ५० पैसाबाट शून्यमा ल्याउन खोजिएको भारतीय मिडिया रिपोर्टहरुमा बताईएको छ। नियामकले मोबाइल ग्राहकका लागि शुल्क हटाउन प्रस्ताव गर्नुको कारण कम कल र एसएमएस मूल्यहरू हुनु उल्लेख गरेको छ।
नोभेम्बर २४ मा जारी गरिएको एक विज्ञप्तिमा, ट्राइले भन्यो, “यूएसएसडी सन्देशहरू सबै प्रयोगकर्ताहरूका लागि निःशुल्क बनाउने प्रस्ताव देशमा डिजिटल भुक्तानी प्रोत्साहनका लागि भारतीय रिजर्भ बैंकद्वारा गठित डिजिटल भुक्तानीको विकाससम्बन्धी उच्च-स्तरीय समितिको सिफारिसहरूमा आधारित छ।”
युएसएसडी सन्देशहरू टेलिकम अपरेटरहरूले फिचर फोन प्रयोगकर्ताहरूलाई आफ्नो ब्यालेन्स जाँच गर्न र इन्टरनेटको पहुँच बिना नै सेवाहरू उपयोग गर्न प्रयोग गरिन्छ।
ट्राइले वित्तीय सेवा विभागद्वारा टेलिकम विभागलाई गरिएको अनुरोधमा मुद्दाको विश्लेषण गरेको छ र नियामक निकायले यूएसएसडी प्रयोगकर्ताहरूको हितको रक्षा गर्न र डिजिटल वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्न यूएसएसडी शुल्कलाई तर्कसंगत बनाउन आवश्यक छ भन्ने विश्वास गर्ने बताएको छ।
प्रकाशित: १० मंसिर २०७८, शुक्रबार