माघ १ देखि नयाँ अन्तरआबद्धता शुल्क लागू गर्न निर्देशन, मोबाइल सेवाको शुल्क दर घट्नसक्ने

  • Technology Khabar | ८ मंसिर २०७८, बुधबार
माघ १ देखि नयाँ अन्तरआबद्धता शुल्क लागू गर्न निर्देशन, मोबाइल सेवाको शुल्क दर घट्नसक्ने

काठमाडौं ।

-अनुज राज

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरकनेक्सन अर्थात अन्तरआबद्धताको शुल्कमा पुनरावलोकन गर्ने गरि नयाँ शुल्क दर लागू गराउन निर्देशन दिने भएको छ।

प्राधिकरणले इन्टरकनेक्सन गाइडलाइन २०७६ अनुसारको घरेलु शुल्क दर आगामी माघ १ गतेदेखि लागू गराउन निर्देशन दिने निर्णय गरेको हो।

प्राधिकरण कात्तिक २९ गते बसेको बोर्ड बैठकले गाइडलाइनले घरेलु शुल्क घटेको खण्डमा दूरसञ्चार सेवा प्रयोगकर्ताहरु लाभान्वित हुने भन्दै सो गाइडलाइन लागू गराउन निर्देशन दिने निर्णय गरेको हो।

“घरेलु अन्तरआबद्धता प्रयोग शुल्क तत्काल कार्यान्वयन गर्दा सेवा प्रदायकहरुको महशुल दरमा आउने कमीबाट उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिएकोले हालको लागि परिक्षणको रुपमा ६ महिनासम्म कार्यान्वयन गरी सोको प्रभाव मूल्याङ्कन गरी पुनरावलोकन गर्नुपर्ने देखिएमा पुनरावलोकन गर्ने गरी डोमेस्टिक इन्टरकनेक्सन यूजेस चार्ज २०७८ माघ १ गते देखि लागू गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिने,” निर्णयमा भनिएको छ ।

नयाँ शुल्क दरमा कमीले पनि नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणले प्राप्त गर्ने राजस्व शिर्षकहरुमा तात्विक रुपमा नकारात्मक असर नपर्ने प्राधिकरणले उल्लेख गरेको छ।

यसका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत अन्तरआबद्धता शुल्क कोभिड १९ को प्रभाव र मुख्य सेवा प्रदायकहरुको कूल आम्दानी लगायतका विषयमा थप अध्ययन गरीपछि कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ।

यो निर्णय अगाडी प्राधिकरणले अन्तरआबद्धता प्रयोग शुल्कले पार्ने असर बारेमा अध्ययन गराएको थियो । जसमा विभिन्न राजस्व र आम्दानीहरुको बारेमा प्रभाव विश्लेषणसहित सुझाब आएको थियो । सोही सुझाबको आधारमा प्राधिकरणले नयाँ शुल्क दर लागू गराउने भएको बताईएको छ।

प्राधिकरणले यसअघि २०७६ सालमा नै अन्तरआबद्धता निर्देशिका पारित गरेर लागू गराउने प्रयास गरेको थियो । तर त्यस बेला सेवा प्रदायकहरुले आफ्नो आम्दानीमा प्रत्यक्ष असर पर्ने भन्दै निर्देशिका मान्न अस्विकार गरेका थिए ।

त्यसपछि पनि प्राधिकरणले पटक पटक सो निर्देशिका लागू गराउन प्रयास गरेपनि सफल भएको थिएन्।

त्यसमाथि कोभिड-१९ को महामारीले टेलिकम सेवा प्रदायकहरुको आम्दानीमा ठूलो कमी आएपछि झनै सो कार्य रोकिएको थियो भने प्राधिकरणले त्यसलाई घरेलु र अन्तराष्ट्रिय स्तरमा फरक फरक रुपमा लागू गराउने प्रयास गरेको थियो।

सम्बन्धित समाचार-

नयाँ इन्टरकनेक्सन गाइडलाइन अझै लागू भएन्, सेवा प्रदायक कम्पनीहरुलाई लकडाउनले दियो राहत

यस्तो हुनेछ नयाँ घरेलु अन्तरआबद्धता दर

स्थानिय कलमा यसअघि विभिन्न श्रेणीमा इन्टरकनेक्सन कलको शुल्क तोकिएको थियो भने अब त्यसलाई ल्याण्डलाइन र मोबाइलको श्रेणीमा मात्र राखिएको छ। यसअघिको इन्टरकनेक्सन गाइडलाइनले ल्याण्डलाइन र मोबाइललाई पनि क्याटोगरी १ र क्याटोगरी २ गरेर अंचलको आधारमा इन्टरकनेक्सन शुल्क निर्धारण गरेकोमा हाल त्यसलाई नयाँ इन्टरकनेक्सन गाइडलाइनले प्रतिस्थापन गरेको छ।

यसअघिको इन्टरकनेक्सन गाइडलाइनमा एउटा अपरेटरको फिक्स्ड लाइन सर्भिसबाट अर्को अपरेटरको फिक्स्ड लाइन सर्भिसमा फोन गर्दा न्यूनतम १४ पैसादेखि अधिकतम ४८ पैसा शुल्क रहेकोमा अहिले त्यसलाई औसतमा २० पैसा बनाईएको छ। त्यसैगरि मोबाइलबाट मोबाइलमा कल गर्दा भने १० पैसा तोकिएको छ।

अब लागू हुने नयाँ शुल्क दरअनुसार देशभित्र सबै स्थानमा एकै प्रकारको शुल्क दर लागू हुनेछ। यसमा फरक फरक जिल्लाहरु वा प्रदेशअनुसार शुल्क लागू हुनेछैन् । त्यसैगरी फिस्क्ड लाइन र मोबाइलमा समेत समान प्रकृतिको नियम हुनेछ।

नयाँ निर्देशिकाअनुसार नयाँ शुल्क अब फिक्स्ड सेवाग्राहीको आधारमा एउटा कम्पनीले सोहि प्रकृतिको फिक्स्ड लाइनमा नै कल गर्दा अर्को अपरेटरलाई प्रति मिनेट २० पैसा तिर्नुपर्नेछ।

त्यसैगरी फिक्स्ड लाइनबाट मोबाइलमा कल गर्दा १० पैसा भुक्तानी गर्नेछ भने मोबाइलबाट फिक्स्ड लाइनमा कल गरेको आधारमा एक अपरेटरले अर्को अपरेटरलाई २० पैसा र मोबाइलबाट मोबाइलमा कल गरेको आधारमा १० पैसा भुक्तानी गर्नेछ।

(उदाहरणको लागि नेपाल टेलिकमले प्रति ग्राहक कम्पनीको नेटवर्क मोबाइलबाट एनसेलको मोबाइल सेवामा कल गरेको आधारमा एनसेललाई टेलिकमले प्रति मिनेटको दरले १० पैसा भुक्तानी गर्नुपर्ने हुन्छ।)

त्यसैगरी एसएमएस शुल्क प्रति एसएमएस १० पैसा एक अपरेटरले अर्को अपरेटरलाई भुक्तानी गर्नेछ।

ग्राहकहरुका लागि शुल्क घट्ने अपेक्षा

नयाँ गाइडलाइनले यसअघिको न्यूनतम १४ पैसालाई बढाएर २० पैसा बनाउँदा कतै इन्टरकनेक्सन गाइडलाइनले फोनको शुल्क ग्राहकलाई बढ्ने त होईन भन्ने प्रश्न समेत आएको छ।

तर यसले ग्राहकहरुलाई फाइदा हुने र कम शुल्कमा धेरै सेवा लिनसक्ने संभावना देखिएको प्राधिकरणका निर्देशक अम्बर स्थापितले जानकारी दिए।

“हामीले कति शुल्क ग्राहकको लागि घट्यो भनेर सिधै हेर्ने भन्दा पनि शुल्क घटेपछि उनीहरुको पकेटमा कम असर पार्दछ र न्यूनतम शुल्कमा थप सेवाहरु प्रयोग गर्न सक्नेछन्,” निर्देशक स्थापितले भने।

यसले हाल अपरेटरहरुको घरेलु आम्दानी दरमा ५० प्रतिशत हाराहारीमा घट्ने देखिएपनि सस्तो मूल्यमा ग्राहकहरुले थप सेवा प्रयोग गर्दा अझ आम्दानी बढ्नसक्ने अनुमान गरिएको उनले जानकारी दिए ।

“हालको आम्दानीमा असर नपर्ने देखिएको छ भने दिर्घकालमा अपरेटरहरुलाई समेत फाईदा नै हुनेछ, समग्रमा यसले ग्राहक र कम्पनीसहित सबैलाई फाइदा दिनेछ,” उनले भने।

प्राधिकरणले अन्तराष्ट्रिय अन्तरआबद्धताको दरका लागि भने पछि मात्र निर्णय गर्ने तयारी गरेको छ।

“अपरेटरहरुले कोभिड-१९ को कारण अन्तर्राष्ट्रिय कलमा कमी आएको भन्दै सो अन्तर्राष्ट्रिय अन्तरआबद्धता दर नघटाउन अनुरोध गरेका थिए। त्यसैले अवस्था सामान्य भएपछि त्यस बारेमा समेत हामीले हेर्नेछौं,”  निर्देशक स्थापितले भने।

प्राधिकरणले घरेलु अन्तरआबद्धता दर माघ १ गतेदेखि लागू गराउन अपरेटरहरुलाई निर्देशन पत्र दिईसकेको बताईएको छ।

प्रकाशित: ८ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...