Technology Khabar २१ जेष्ठ २०७३, शुक्रबार
काठमाडौं ।
काठमाण्डौ, २१ जेठ । औद्योगिक सीप प्रशिक्षण (अप्रेण्टिशिप) सम्बन्धि जेठ १८ गतेदेखि शुरू भएको तीनदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा आयोजित “सफल अप्रेन्टिशिप तालीम पद्धति को दिशामा नेपाल” बिषयक कार्यशालाको उद्घाटन गर्दै सिटिईभीटीका सदस्य-सचिव डा.रामहरि लामिछानेले कार्यशाला अप्रेन्टिशिप तालीमलाई व्यवहारमा लागू गर्न पहिलो कोशेढुंगा हुने विश्वास व्यक्त गरे । साथै उनले सीपयुक्त जनशक्ति उत्पादनमा सरकार, उद्योग प्रतिष्ठानहरू र सीप तालीम प्रदायक संस्थाहरू बीचको सहकार्यको अपरिहार्यतामा जोड दिए।
गोष्ठीमा नेपाल निर्माण व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ, निर्माण तथा पर्यटन क्षेत्रका उद्योग-प्रतिष्ठानहरू, सीप तालीम प्रदायकहरूका प्रतिनिधिहरूका साथै प्रा.शि.व्या.ता.परिषदका पदाधिकारीहरूले भाग लिएका थिए । त्यसैगरी स्विस विकास नियोग, हेल्भेटास इन्टरकोअपेरसन नेपाल, राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली परियोजना तथा ENSSURE परियोजनाका प्रतिनिधिहरू समेत सहभागी भएको हेल्भेटासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी हेल्भेटास नेपाल अन्तर्गत रोजगार कोष सचिवालयको तर्फबाट ज्योति खत्रीले उद्योगधन्दासंगको समन्वयमा संचालन गरिएको छाला उत्पादन सम्बन्धी अप्रेन्टिशिप तालीमको अनुभवबारे प्रस्तुतिकरण गरेका थिए ।
नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारका बीच सम्झौता भै दीगो तथा सम्मानित रोजगारीकालागि सीप (ENSSURE) परियोजना गत जनवरी महिनादेखि सञ्चालनमा रहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा कार्यान्वयन गरिने यस परियोजनामा हेल्भेटास इन्टरकोअपरेसन नेपालद्वारा प्राविधिक सहयोग प्रदान गरिनेछ ।
नेपाली कामदारहरू, खासगरी सुबिधाबिहिनहरू,अनवरत रुपमा रोजगार बन्न सकुन् र उनीहरूको जीवनस्तरमा सुधार आओस् भन्ने लक्ष्यका साथ शुरु भएको यस परियोजनाले व्यवसायिक तालीमहरू उद्योगधन्दा/ प्रतिष्ठानका कार्यस्थलमै गरिनु पर्छ भन्ने कुरामा जोड दिएको छ ।
परियोजना लक्षित दस बर्षमध्ये प्रथम चरण (२०१६-२०१९) को अवधिमा जम्मा १५०० जनालाई अप्रेन्टिशिप तालीम प्रदान गर्ने लक्ष लिइएको छ जसमा पहिलो बर्ष (आ.ब.२०७३/७४) मा २०० जनालाई यस किसिमको तालीम प्रदान गरिने जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २१ जेष्ठ २०७३, शुक्रबार