
काठमाडौं ।
गेम निर्माता कम्पनी निन्टेण्डोले यसको स्विच ह्यान्डहेल्ड गेम कन्सोलको पूर्वानुमान बिक्री संख्यामा १५ लाख यूनिटहरु घटाएको छ।
क्योटोमा आधारित गेम जायन्टले नयाँ अनुमानअनुसार यस आर्थिक वर्षमा २ करोड ४० लाख युनिट बेच्ने अपेक्षा गरेको छ। यसअघि कम्पनीले २ करोड ५५ लाख युनिट बिक्री हुने अनुमान गरेको थियो।
एनिमल क्रसिङ निर्माताले नयाँ बिक्री प्रक्षेपण यसको उत्पादन योजनामा आएको परिवर्तनका कारण भएको र यसो हुनुमा विश्वव्यापी सेमिकण्डक्टर चिप अभावका कारण भएको जानकारी दिएको छ।
चिप डिजाइनर कम्पनी एआरएमले भर्खरै अभावले गर्दा क्रिसमस उपहारहरूमा ढिलाइ हुनसक्ने चेतावनी दिएको छ।
“दोस्रो अर्धवार्षिकको लागि हाम्रो आपूर्ति पूर्वानुमान घटाइएको थियो किनभने विश्वव्यापी सेमिकण्डक्टर अभावको प्रभावको कारणले गर्दा हाम्रो उत्पादन योजनामा परिवर्तन भयो,” निन्टेन्डोले यसको वित्तीय नतिजाहरूको साथै डकुमेन्टमा उल्लेख गरेको छ।
“अर्को तर्फ, हामीले निन्टेन्डो स्विच सफ्टवेयर पूर्वानुमानलाई परिमार्जन गर्यौं” यसले भनेको छ। कम्पनीले पहिले सोचेको भन्दा १ करोड बढी खेलहरू बेच्ने भविष्यवाणी गर्दै कुल २० करोड निन्टेन्डो स्विच सफ्टवेयर पुर्याउने जनाएको छ।
सेमिकण्डक्टर अभावले आफ्ना उत्पादन र बिक्रीमा संसोधन गर्ने निन्टेण्डो मात्र एक्लो कम्पनी होईन् । यसअघि नै माइक्रोसफ्टले पनि आफ्नो गेमिङ्ग डिभाइसमा असर पर्ने बताईसकेको छ ।
त्यसैगरी टेक जायन्ट एप्पलले आफ्नो बिक्रीमा ६ अर्ब डलरको घाटा भएको जानकारी दिईसकेको छ। यसबाहेक अन्य कम्पनीहरु पनि प्रभावित हुँदै आएका छन्।
प्रकाशित: २१ कार्तिक २०७८, आईतवार