
काठमाडौं ।
रिभियन अटोमोटिभको प्रारम्भिक समर्थक अमेजन डट कम इंकले अब इलेक्ट्रिक-ट्रक निर्माताको पाँचौं भागको स्वामित्व लिएको खुलासा भएको छ। ईकमर्स जायन्टले शुक्रबार गरेको त्रैमासिक फाइलिङमा सो शेयरको बारेमा खुलासा भएको रोयटर्सको रिपोर्टमा भनिएको छ।
रिभियनसँग रणनीतिक सम्बन्ध रहेको फोर्ड मोटर कम्पनीले यस महिनाको सुरुमा स्टार्टअपको बोर्डबाट एक प्रतिनिधिलाई हटाएको थियो ।
फाइलिङ अनुसार तेस्रो त्रैमासिकको अन्त्यमा, अमेजनको रिभियनमा लगभग २० प्रतिशतको इक्विटी सेयर थियो।
रिभियनले यस वर्षको अन्त्यमा स्टक मार्केट डेब्यूमा ५ अर्बदेखि ८ अर्ब डलरबीचमा उठाउने लक्ष्य पनि राखेको छ । यसबाट कम्पनीले लगभग ८० अर्ब डलरको बजार मूल्याङ्कन खोजिरहेको छ।
कम्पनीका प्रि-आईपीओ लगानीकर्ताहरूमा टी रोवे प्राइस र ब्ल्याकरक पनि छन्।
अमेजनले बिहीबार कमजोर त्रैमासिक नतिजाहरू रिपोर्ट गरेको छ र कडा श्रम बजार र बढ्दो लागतले यसको छुट्टी सिजनको त्रैमासिक नतिजाहरूलाई असर गर्ने चेतावनी दिएको छ।
स्टार्टअप रिभियनले रिटेल जायन्टको व्यावसायिक डेलिभरी भ्यान सहित विद्युतीय सवारी साधनहरू विकास गरिरहेको छ।
रिभियनले भने कि अमेजनसँग कम्तिमा चार वर्षको लागि रिभियनको इलेक्ट्रिक डेलिभरी सवारी साधनहरूमा केही विशेष अधिकार भएको, र त्यसपछि पहिलो अस्वीकारको अधिकार भएको रिभियनले बताएको थियो। अमेजनले २०३० सम्ममा १ लाख विद्युतीय ढुवानी सवारी साधनहरू अर्डर गरेको छ। कम्पनीले अर्को वर्षको सुरुमा रिभियनबाट १० हजार नयाँ इलेक्ट्रिक डेलिभरी गाडीहरू सडकमा ल्याउने योजना बनाएको छ।
अमेजनले रिभियनमा करिब १.३ अर्ब डलर लगानी गरेको छ भने हाल सो शेयरको मूल्य करिब ३.८ अर्ब डलर भएको सिएनबीसीले रिपोर्ट गरेको छ।
प्रकाशित: १३ कार्तिक २०७८, शनिबार