काठमाडौं ।
अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले अमेरिकी कामदारलाई सस्तो विदेशी श्रमिकबाट प्रतिस्थापन गर्न एच–१बी भिसा कार्यक्रमको दुरुपयोग भइरहेको दाबी गर्दै कार्यक्रम हटाउन आफूले समर्थन गर्ने बताएका छन्।
सामाजिक सञ्जाल एक्समा भिडियोमार्फत धारणा सार्वजनिक गर्दै उनले प्रविधि, लेखा तथा अन्य क्षेत्रमा कम्पनीहरूले प्रणालीको दुरुपयोग गरेको आरोप लगाएका छन्। उच्च दक्ष विदेशी प्रतिभा भित्र्याउने र सस्तो श्रमका लागि भिसा प्रयोग गर्ने विषय फरक हुनुपर्ने उनको भनाइ थियो।
भान्सले एच–१बी भिसासम्बन्धी केही निवेदनमा लाग्ने एक लाख अमेरिकी डलर शुल्कको बचाउ गर्दै उक्त व्यवस्थाले कम्पनीलाई कम लागतको विदेशी श्रम प्रयोग गर्न निरुत्साहित गर्ने बताए। प्रशासनले उच्च दक्षता र उच्च पारिश्रमिक भएका पदमा भर्तीलाई प्राथमिकता दिने नीति अघि बढाएको छ।
सेप्टेम्बर १८ को कार्यकारी निर्देशनले एच–१बी प्रायोजन गर्ने कम्पनीले अमेरिकी कामदारलाई असर पर्ने गरी कर्मचारी कटौती गरेको वा गर्न लागेको अवस्थासमेत आवेदन समीक्षा गर्दा मूल्याङ्कन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। श्रम विभागलाई सम्भावित नियम उल्लङ्घनबारे पुराना आवेदन छानबिन गर्न पनि भनिएको छ।
भान्सले यी सुधारले प्रणालीका मूल समस्या समाधान नगर्न सक्ने बताउँदै एच–१बी कार्यक्रम ‘पूर्ण रूपमा बिग्रिएको’ दाबी गरे। कार्यक्रम कायम रहेसम्म अमेरिकी कामदारको संरक्षण गर्नुपर्ने उनको भनाइ छ।
यसैबीच, एक लाख डलर शुल्कसम्बन्धी व्यवस्था अदालतमा चुनौतीमा परेको छ। अक्टोबर १ मा एक सङ्घीय मजिस्ट्रेटले प्रशासनले आवश्यक प्रक्रिया पालना नगरेको ठहर गर्दै शुल्क कार्यान्वयनविरुद्ध आदेश दिएका थिए।–रासस
प्रकाशित: १७ आश्विन २०८३, शनिबार