
काठमाडौं ।
बालबालिकाका अभिभावकका लागि सबैभन्दा चिन्ताको विषय भनेको आफ्ना बालबालिकाको कुनै पनि फोटो इन्टरनेटको माध्यमबाट गलत हातमा नपरोस भन्ने हो। यसैलाई मध्यनजर गर्दै गुगलले हालै नयाँ नीति ल्याएकोछ।
गुगलको यस नीति अन्तर्गत, १८ वर्ष मुनिका बालबालिकाहरुका आमाबुवा वा उनीहरुका अभिभावकले गुगल सर्चबाट आफ्नो फोटो मेटाउन अनुरोध गर्न सक्छन्।
बालबालिका र किशोर किशोरीहरूले इन्टरनेट प्रयोग गर्दा धेरै चुनौतीहरू सामना गर्नेमा गुगल सचेत भएको एक ब्लग पोस्टमा उल्लेख गरेको छ।
विशेष गरी जब उनीहरुको कुनै पनि फोटोहरू नचाहँदा नचाहँदै पनि इन्टरनेटमा उपलब्ध छन्। तर, अब गुगलको नयाँ सेवाका कारण यो समस्या हटाउन सकिनेछ।
कयौं पटक तपाईको कुन फोटो इन्टरनेटमा उपलब्ध छ भन्ने तपाईलाई थाहा हुँदैन् र तपाई यसलाई देख्ने बित्तिकै मेटाउन चाहनुहुन्छ। अब १८ वर्ष मुनिका व्यक्तिले यस्ता तस्विर हटाउने विकल्प पाइरहेका छन् ।
यदि तपाईंको बच्चाको त्यस्तो कुनै फोटो गुगल सर्च परिणाममा उपलब्ध छ, जुन तपाईं हटाउन चाहनुहुन्छ भने, तपाईंले गुगललाई अनुरोध गरेर त्यसो गर्न सक्नुहुन्छ।
यस्तो छ अनुरोध विधिः-
यसका लागि तपाईंले अनुरोध फारम भर्नुपर्छ। त्यस अघि मद्दत पृष्ठमा जानुहोस् र यस सम्बन्धमा आवश्यक जानकारी प्राप्त गर्नुहोस्।

त्यसपछि तपाईंले समर्थन लिङ्कमा दिईएको निर्दिष्ट फारम प्रयोग गरेर फोटो हटाउन अनुरोध गर्न सक्नुहुन्छ।
तपाईंले अनुरोध गरेपछि, गुगलले त्यसको समीक्षा गर्नेछ र त्यो अनुरोधको लागि कारबाही गर्नेछ।
ध्यान राख्नुहोस्, यसका लागि तपाईंले फोटोको यूआरएल (URL) प्रदान गर्नुपर्नेछ।
यो परिवर्तनले युवाहरूलाई आफ्नो डिजिटल फुटप्रिन्टमा थप नियन्त्रण कायम राख्न मद्दत गर्नेमा विश्वस्त भएको गुगलले आफ्नो ब्लग पोस्टमा उल्लेख गरेको छ।
प्रकाशित: १३ कार्तिक २०७८, शनिबार